अविनाश चौधरी
धनगढी, मङ्सिर २१ गते । कैलालीको धनगढीमा कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दैआएको सुदूरपश्चिम महोत्सव सोमबारदेखि सुरु हुदैछ ।
यस प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारको साथै कला, संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले संघले १९ औं संस्करणको महोत्सव आयोजना गर्न लागेको हो । मङ्सिर २२ देखि पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको संघले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
करिब तीन करोड रुपियाँ लगानीमा आयोजना गरिरहेको महोत्सवमा १५ करोड रुपियाँ बराबरको आर्थिक कारोबार हुने संघका अध्यक्ष पुस्करराज ओझाले बताउनुभयो । उहाँले सात लाख दर्शकले महोत्सवको अवलोकन गर्ने उल्लेख गर्नुभयो ।
महोत्सवको उद्घाटन अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गर्नु हुने संघले जानकारी दिएको छ । महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोेमोबाइल्स, इलेक्ट्रोनिकल, होटल, सूचना प्रविधिलगायतको गरेर ५०० वटा स्टल रहेको आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा प्रवेशका लागि तोकिएको टिकटबाट उठेको केही रकम सामाजिक क्षेत्रमा खर्च गर्ने अध्यक्ष ओझाले बताउनुभयो ।