सिराज खान
नेपालगन्ज, मङ्सिर २१ गते । लगानीअनुसारको प्रतिफल नपाएको भन्दै कृषकहरूले लगाउन छाड्दै गएपछि लोप हुने अवस्थामा पुगेको कालानमक धानको संरक्षणका लागि बाँके बैजनाथका कृषक गंगानारायण चौधरी सक्रिय हुनुभएको छ ।
कृषि ज्ञान केन्द्रको सहयोग र समन्वयमा बाँकेको बैजनाथ गाउँपालिका –८ टिटिहिरियाका किसान चौधरीले गत पाँच वर्षदेखि रैथाने कालानमक जातको धानखेती गरेर धान संरक्षण गर्दै आउनुभएको हो ।
यो वर्ष ३२ कठ्ठा क्षेत्रफलमा लगाएको धान खेतीबाट ४० क्विन्टल कालानमक धान उत्पादन भएको चौधरीले बताउनुभयो । उहाँले उत्पादन अझ धेरै हुने अनुमान गरिए पनि अन्य धान स्याहारी सकेकाले कालानमक धानमा चरा, मुसा र किराको सङ्क्रमण बढेर समस्या हुदा यति उत्पादन भएको बताउनुभयो ।
कालानमक चामल बिक्रीमा कुनै समस्या छैन । बजारमा लैजादा राम्रो मूल्यमा बिक्री हुने किसान चौधरीले बताउनुभयो । उहाँका अनुसार अन्य धान करिब तीन हजार ५०० रुपियाँ क्विन्टलमा बिक्री हुँदा कालानमक भने प्रतिक्विन्टल दश हजार रुपियाँमा बिक्री हुने गरेको छ ।
यो धान असारमा रोपेपछि मङ्सिरको पहिलो साता मात्र काट्न तयार हुन्छ । सिँचाइ पनि पर्याप्त चाहिन्छ । करिब छ महिनामा तयार हुने भएकाले यसमा रोग सङ्क्रमणको जोखिम बढी हुन्छ ।
बाँकेमा किसानले रैथाने धानको तुलनामा धेरै फल्ने र छिट्टै पाक्ने रामधान, राधा ४, एमपी ६०, गोरखनाथ लगायतको हाइब्रिड धान रोप्दैआएका छन् । किसान व्यावसायिक खेतीतर्फ उन्मुख हुँदै गएपछि परम्परागत रैथाने कालानमक धानको जात हराउँदै गएको छ ।
सिँचाइ र स्याहार सुसार बढी गर्नुपर्ने र रोग तथा किराको प्रकोप बढी देखिने भएकाले कृषकहरु यसको साटो हाइब्रिड धानतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी वरिष्ठ वागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिनुभयो ।
उहाँका अनुसार विगतमा बाँके र बर्दियामा यसको राम्रै खेती हुन्थ्यो, अनेक प्रजाति निस्किएपछि किसान छोटो समयमा धेरै उत्पादन गरेर लाभ लिनतिर लागेका छन् । बाँकेमा कालानमकको खेती शून्यप्रायः भएपछि अहिले यसको प्रवर्धन र प्रचारमा लागेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
केन्द्रका सूचना अधिकारी पाठकका अनुसार कालानमक धानको संरक्षणका लागि कृषि ज्ञान केन्द्रले कृषकस्तरमा लगाएर प्रचार प्रसारको थालनी गरेको छ । कृषि अनुसन्धान परिषद् खजुराबाट प्राप्त गरेको बीउलाई बाँकेको बैजनाथ –८ टिटिहिरियामा प्रयोग गरिएको पाठकले बताउनुभयो ।