सुजन बज्राचार्य
संखुवासभा, मंसिर २१ गते । सभापोखरी गाउँपालिकामा पाँच शैयाको अत्याधुनिक आधारभूत अस्पताल शनिबारदेखि सञ्चालनमा आएको छ ।
चिकित्सकसहितको दक्ष स्वास्थ्यकर्मीबाट सेवा दिइने अस्पतालमा पोष्टमार्टम, प्रयोगशाला सेवा र फार्मेसीको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष भिम सिङ्था लिम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी दिनमा एक्स–रे तथा भिडियो एक्स–रे जस्ता प्रविधिमैत्री सेवा थप गरिनेछ ।
करिब ६ करोड ९७ लाख रुपियाँ लागतमा निर्माण गरिएको अस्पताल सञ्चालनमा आएसँगै स्थानीयवासीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यका अनुसार यसअघि सभापोखरीमा सातवटा स्वास्थ्य चौकीमार्फत सेवा प्रदान हुँदैआएको थियो । नयाँ अस्पताल सञ्चालनमा आएसँगै स्थानीय स्वास्थ्य सेवा थप सुदृढ भएको उहाँले बताउनुभयो ।
अस्पताल भवनको औपचारिक उदघाटन जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्य र गाउँपालिका अध्यक्ष लिम्बुले संयुक्त रूपमा गर्नुभयो ।