काठमाडौँ, मङ्सिर २१ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा जितका लागि कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई एक सय ३० रनको सामान्य लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आइतबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय २९ रन बनायो ।
कर्णालीका लागि इमरन शेखले ३३ रन बनाउनुभयो । यस्तै गुल्शन झाले १९, कप्तान सोमपाल कामीले १८, प्रियांक पान्चलले १६, विलियम वसिस्टोले १५ र नजिबुल्लाह जद्रानले १३ रन बनाउनुभयो ।
बलिङमा जनकपुरका ललित राजवंशी र आदित्य महताले दुई दुई तथा संगीत कोरे, माज सदाकत र अनिल शाहले एक एक विकेट लिनुभयो ।
प्लेअफको दौडबाट बाहिरिसकेका यी दुवै टोलीबिचको खेल प्रतिष्ठाका लागि हुनेछ । यसअघि दुवै टोलीले समान ६ खेलबाट एक/एक जित निकालेका छन् ।