• २२ मङ्सिर २०८२, सोमबार

पौरखी महिला : सुन्तला खेतीबाट आकर्षक आम्दानी

blog

बगैँचामा फलेका सुन्तला देखाउँदै लालमति रोका । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, मङ्सिर २१ गते । म्याग्दीको मङ्गला गाउँपालिका–४ अर्भल्याङकी लालमति रोकाको सुन्तला बगैंचामा यो सिजनमा लटरम्म सुन्तला फलेका छन् । सुन्तलाको बोटले बगैंचा नै पहेँलपुर भएको छ । कोदो र मकै लगाउने बारीमा उहाँले विगत ९ वर्ष अघि नगदे बालीका रुपमा रहेको सुन्तला खेती विस्तार गर्नुभएको हो । तीन वर्षदेखि सुन्तलाले राम्रो आम्दानी दिन थालेको उहाँले बताउनुभयो । 

अघिल्लो वर्ष पाँच लाखमा सबै सुन्तला बिक्री गरेको बताउने रोकाले यो वर्ष पनि अग्रिम  बिक्री गरेको बताउनुभयो । यसवर्ष प्रतिकेजी ६० रुपियाँका दरले लैजाने गरी बगैँचा नै अग्रिम रुपमा बिक्री गरेको उहाँको भनाइ छ । 

दुई सय ५० बोटले तीन वर्षदेखि फल दिन थालेको उहाँले बताउनुभयो । पहिलो वर्ष ४८ हजार, दोस्रो वर्ष एक लाख र तेस्रो वर्ष चार लाख रुपियाँको सुन्तला बिक्री गरेको उहाँको भनाइ छ । 

कोदो, मकै, गहुँ लगाउँदा दुःख मात्र हुने र आम्दानी कम हुने भएपछि विगत ९ वर्षदेखि नगदे बालीका रुपमा रहेको सुन्तला खेतीको विस्तार गरेको उहाँले बताउनुभयो । बाँकी बारीमा पनि सुन्तला रोपेको उहाँले बताउनुभयो । 

सुन्तला खेतीबाट राम्रो आम्दानी  हुनथालेपछि यहाँका स्थानीयले परम्परागत अन्नबालीको विकल्पमा व्यावसायिक रूपमा सुन्तलाखेती विस्तार गर्न थालेका छन् ।