राजु लामिछाने
रुकुमपश्चिम, मङ्सिर २१ गते । आठ वर्षअघि रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१० मा किचकिचे चिन्तु खानेपानी लिफ्ट सिँचाइ खानेपानी सुरु गर्दा यहाँका ११० घरधुरीलाई अब खानेपानीको सुविधा घरमै उपलब्ध हुने आशा पलाएको थियो ।
स्थानीय गोपाल खड्काले अब खानेपानीको चिन्ता लिनुपर्दै भन्ने सोचेका थिए । “अब चिन्तु, डाँगीचौर, जुम्लेपोखरी, हल्टाकुरी र बुगेरी टोलमा एक घर एक धारा हुन्छ भन्ने लागेको थियो, तर अहिलेसम्म योजना अधुरै छ”, उनले भने । अहिले अन्य स्थानमा खानेपानीको सुविधा पुग्दा आफ्नो गाउँमा कहिले त्यो सुविधा होला भन्ने कुरा उनको मनमा खेलिरहन्छ । उपभोक्ता समितिका अध्यक्ष धनवीर ओलीका अनुसार आयोजनाको ८० प्रतिशत काम सकिएको छ तर करिब ३० लाख रुपियाँको थप बजेट व्यवस्थापन नहुँदा घरघरमा खानेपानी पुग्ने सपना पूरा हुन सकेको छैन ।
सानीभेरीकै वडा नम्बर ३ मा आठ वर्ष पहिला नै निर्माण सुरु भएको तुसारे अध्याचौर लिफ्ट खानेपानी आयोजना अझै पनि पूरा भएको छैन । यही योजनामा सङ्घीय, प्रदेश र स्थानीय सरकाले ३ करोड लगानी गरिसकेका छन्, तर उपलब्धि भएको छैन । वडाध्यक्ष जगदीश नकालले करिब चार सय घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको यो योजना बजेट अभावकै कारण पूरा हुन नसकेको बताउनु भयो । “पछिल्लो समय तीनै तहको सरकारको प्राथमिकतामा यो योजना छैन, बजेट आउन छोडेको छ । यो योजनामा सानीभेरी गाउँपालिकाले २० लाख रकम खर्च गरेको छ भने प्रदेश र सङ्घको क्रमागतबाट बाँकी रकम खर्च भएको हो”, उहाँले भन्नु भयो ।
वडा नम्बर ४ मा तीन वर्ष अघि सुरु भएको पधेरीखोला गाउँबारी लिफ्ट खानेपानी आयोजना पनि अधुरै छ । वडाध्यक्ष मनोज बुढाथोकीका अनुसार कर्णाली प्रदेश सरकारबाट तीन पटक गरेर यस योजनामा ३८ लाख रुपियाँ खर्च भइसकेको छ । योजना छनाेट तथा बजेट विनियोजन गर्दा वडा कार्यालयलाई जानकारी नै नभएको, हचुवाका भरमा बजेट योजना र बजेट हालेर निर्माण पूरा हुन नसकेको उहाँको भनाइ छ । अन्तिम समयमा मोटर र धारा जडानको काममा बजेट अपुग भएपछि यो योजना रोकिएको छ ।
बजेट अभावमा योजना अधुरै
किचकिचे, तुसारे र पधेरीखोला जस्तै यस गाउँपालिकाको वडा नम्बर ४ मा रहेको गोल्चौर लिफ्ट सिँचाइ आयोजना र वडा नम्बर ५ मा रहेको मेलचौर लिफ्ट खानेपानी आयोजना पनि अधुरै छन् । गोल्चौरमा प्रदेश सरकारको ८० लाख रुपियाँ र मेचचौरमा ४० लाख रुपियाँ रकम लगानी भइसकेको छ । तर बजेट अपूरा भएको भन्दै योजना अधुरै छोडिएका छन् । एकातिर करोडौं रकम लगानी भएका योजनाहरूले परिणाम दिन सकेका छैनन् भने अर्कोतर्फ सर्वसाधारणहरू खानेपानी जस्तो आधारभूत आवश्यकता सहजै उपभोग गर्नबाट बञ्चित हुनु परेको छ ।
सानीभेरी गाउँपालिकाका खानेपानी तथा सरसफाइ टेक्निसियन पवनकुमार केसीका अनुसार सानीभेरी गाउँपालिकाका विभिन्न वडाका रहेका यी पाँच वटा सबैभन्दा पुराना तर अपुरा अयोजनामा पाँच करोड रकम खर्च भइसकेको छ । तीन तहका सरकारको करोडौं रकम खर्च हुँदा पनि सर्वसाधारणले सहज खानेपानी सुविधा पाएका छैनन् । तीनै तहका सरकार बिचमा योजना र बजेट विनियोजनमा तालमेल नहुँदा यो समस्या देखिएको छ ।
सरकारका बिच समन्वयको अभाव
सानीभेरी गाउँपालिकाका उपाध्यक्ष कमला रोका पुनले योजनाहरू प्राथमिकिकरण नगरिकन हचुवाको भरमा बजेट विनियोजना गर्दा यस्तो समस्या आएको बताउनुभयो । उहाँका अनुसार यस्ता योजनाहरू लथालिङ्ग अवस्थामा पुग्दा भएको खर्चको प्रभावकारिता कमजोर देखिएको छ । तीनै तहका सरकार बिच समन्वय नहुँदा योजनाहरू अलपत्र रहेको, गाउँमा विवाद बढेको र लगानी खेर जाने अवस्थामा रहेको उपाध्यक्ष पुनले उल्लेख गर्नुभयो ।
कुनै वर्ष सङ्घले, कुनै वर्ष प्रदेशले र कुनै वर्ष स्थानीय सरकारले यी योजनाहरूमा बजेट थप गर्ने गरेता पनि अपुरै हुने गरेको छ । पर्याप्त बजेट नहुँदा हरेक वर्ष थोरै मात्र कामको प्रगति हुने गरेको छ । तीनै तहका सरकारले एकीकृत योजना बनाएर योजनाको लागि पूर्ण बजेट व्यवस्थापन गर्न आवश्यक रहेको उपाध्यक्ष पुनले उल्लेख गर्नु भयो । उहाँले भन्नु भयो, “करोडौं खर्च लाग्ने योजनामा १५ लाख, २० लाख मात्र हरेक वर्ष वर्षमा छुट्याउने गर्दा एक दशक नै लाग्ने भयो । यो भन्दा योजनाको प्राथमिकीकरण गरेर लगानी पूरा गर्नु पर्छ ।”
गाउँमा भने खानेपानीको पीरलो
कूल ११ वटा वडा रहेको सानीभेरी गाउँपालिकाका अधिकांश बस्तीहरू अग्लो लेक तथा टाकुरामा रहेका छन् । ती बस्तीहरूमा खानेपानीको सुविधा पुर्याउन लिफ्ट योजना निर्माण सुरु गरिएता पनि वर्षौसम्म सम्पन्न भएका छैनन् । सानीभेरी गाउँपालिका १० का नरबहादुर खड्काले दुई घण्टा टाढाबाट बोकेर खानेपानीको जोहो गर्न बाध्य भएको बताउनुभयो ।
मानिस तथा गाईबस्तुले उपयोग गर्ने पानी बोक्दा समयको खर्च हुनका साथै श्रमको समेत बढी प्रयोग हुने गरेको छ । बिहानै गाग्री बोकेर पानी ल्याउन खोला झर्नुपर्ने बाध्यताले यहाँका सर्वसाधारणहरूलाई दुःख दिइरहेको छ । खानेपानी जस्तो अत्यावश्यक आधारभूत आवश्यकता पुरा गर्न यहाँका सर्वसाधारणहरूलाई पीरलो हुने गरेको छ ।