साधन घर्ती
म्याग्दी (दरबाङ), मङ्सिर २१ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको अन्तर मावि विद्यालय स्तरीय छैटौँ रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मुक्तिधाम माविले जितेको छ ।
वडा नम्बर ३ स्थित रघुगङ्गा माविको खेलमैदानमा आइतबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, चार रजत र दुई कास्य पदक सहित उपाधि जितेसँगै मुक्तिधाम माविले ६० हजार रुपियाँ नगद सहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यो सँगै मुक्तिधाम माविले लगातार दोस्रो पटक रनिङ शिल्ड हात पार्न सफल भएको छ ।
यसैगरी नौ स्वर्ण, आठ रजत र दुई कांस्य पदक हात पार्दै अमर मावि द्वितीय तथा चार स्वर्ण, ११ रजत र तीन कांस्य पदक जित्दै रघुगङ्गा मावि तृतीय भएको छ । द्वितीय र तृतीय भएका अमर मावि र रघुगङ्गा माविले क्रमश: ४० हजार र ३० हजार रुपियाँसहित ट्रफी,मेडल र प्रमाणपत्र हात पारेका छन् ।
उपाधि विजेता, उपविजेता र सान्त्वना विद्यालयहरूलाई गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी ,उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेल, गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ६ का वडा अध्यक्ष मनकुमार शेरपूजा, कार्यपालिका सदस्य होमबहादुर परियार, शिक्षा शाखा अधिकृत नहेन्द्रबहादुर क्षत्री लगायतले पुरस्कार वितरण गर्नुभयो ।
एथ्लेटिक्स, भलिबल र कबड्डीसहित तीनवटा विद्यामा कूल ३० स्वर्णपदकका लागि १२ विद्यालयहरू बिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको थियो ।