• २१ मङ्सिर २०८२, आइतबार

स्वयं सेविकालाई मोबाइल सहयोग

blog

निसीका महिला स्वास्थ्य स्वयं सेविकालाई मोबाइल फोन प्रदान गरिँदै । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, मङ्सिर २१ गते । पश्चिम बागलुङको निसीखोला गाउँपालिका–२ ले महिला स्वास्थ्य स्वयं सेविकालाई मोबाइल फोन वितरण गरेको छ । वडा २ देवीस्थानको टारीखेतका १० जना स्वयं सेविकालाई आम नागरिकको स्वास्थ्य सेवामा लाग्न सहज होस् भनेर मोबाइल फोन वितरण गरिएको वडाध्यक्ष कुबिर विकले बताउनु भयो । 

स्वयं सेविकाले गाउँमा आम नागरिकको स्वास्थ्य क्षेत्रमा काम गर्दै आउनु भएको छ । मोबाइल वितरण विशेषगरी पछिल्लो समय गर्भवती महिलाको तथ्याङ्क राख्ने र उहाँहरूलाई खोप लगाउने, नियमित गर्भ परीक्षण गर्ने विषयमा सचेत बनाउने काम गरिरहनु भएका स्वास्थ्य स्वयं सेविकालाई नियमित म्यासेज पठाउन सहज हुने अपेक्षा गरिएको छ । 

मोबाइलमा नेपाली भाषा टाइप गर्न सकिने प्रबन्ध गरिएको छ । ‘‘गाउँका सबै नागरिकले नेपाली भाषाको सन्देश भए पढेर सही सूचना लिन सक्नु हुन्छ’’ स्वास्थ्यकर्मी बिमला परियारले भन्नुभयो, ‘‘यो कार्यक्रमले गर्भवती तथा सुत्केरी आमा र शिशुको स्वास्थ्यमा महत्त्वपूर्ण योगदान पुग्ने छ ।’’ 

निसीखोला क्षेत्रमा गर्भवती महिलालाई समयमा सूचना दिएमा नियमित स्वास्थ्य संस्थामा ल्याउन सहज हुने उहाँको भनाइ छ । 

विशेषगरी आमा र बालबालिकाको स्वास्थ्य सुरक्षा अभियानमा फेयरमेड फाउन्डेसन, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको सम्बोधन कार्यक्रमले साथ दिएको छ । पछिल्लो समय स्वास्थ्य आमा समूहको बैठकमा नियमित स्वास्थ्य शिक्षाको जानकारी गराउने, स्वास्थ्य संस्थाको भौतिक उन्नती र अत्यावश्यक उपकरण खरिदका लागि सहयोग गर्ने जस्ता काम संस्थामार्फत भएको स्थानीय सामाजिक परिचालक धनकुमारी मल्लले बताउनु भयो ।