साधन घर्ती
म्याग्दी (दरबाङ), मङ्सिर २१ गते । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेमा सञ्चालित स्वास्थ्य शिविरमा ६ सय बढीले सेवा लिएका छन् ।
हीराबहादुर बानियाँ स्मृति छात्रवृद्धि कोषको आयोजनामा शनिबार जामुनाखर्क माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य शिविरमा ६ सय २५ बिरामी लाभान्वित भएका हुन् ।
शिविरमा इको २ सय जना, अल्ट्रासाउन्ड १ सय १४ जना, सुगर परीक्षण ८१ जना, पिसाब परीक्षण ६५ जना, हाडजोर्नी तथा नसा रोगसम्बन्धि ६२ जना, मिर्गौला, पत्थरीसम्बन्धि समस्या भएका ४९ जना लगायत स्त्री रोग, बाल रोग, छाला, नाक, कान, घाँटी, लगायत स्वास्थ्य परामर्श तथा आधारभूत निःशुल्क औषधी वितरण गरिएको विद्यालयका प्रधानध्यापक सोमनाथ ढुङ्गानाले बताउनुभयो ।
आस्था किड्नी एन्ड स्पेसलाइज्ड हस्पिटल पोखराको प्राविधिक तथा लायन्स क्लब अफ पोखरा युथको सहयोगमा आयोजित शिविरमा विशेषज्ञ डा. भीम सिक्देल, डा नवराज पौडेल, डा. अमृत केसी, डा. राजेन्द्र पौडेललगायत चिकित्सक र अन्य मेडिकल स्टाफ गरी २० जनाले शिविरमा बिरामीलाई सेवा प्रदान गरेको कोषका संरक्षक किरण बानियाँले बताउनुभयो ।
शिविरमा रोग पहिचान भएर थप उपचारका लागि जानुपर्ने अवस्थामामा आर्थिक अभाव भएका बिरामीलाई समेत सहयोग गरिने कोषले जनाएको छ । पूर्व सरकारी कर्मचारी समेत रहनु भएका हीराबहादुर बानियाँको स्मृतिमा तीन वर्ष अगाडि स्थापना गरिएको कोषबाट पहिलो पटक शिविरको आयोजना गरिएको हो ।
शिविरमा नगरपालिकासहित छिमेकी जलजला गाउँपालिकाको पर्वत बेनी लगायतका क्षेत्रबाट समेत बिरामी चेकचाँच गर्न आएका थिए । शिविरमा चिकित्सकले बिरामीलाई परामर्श समेत प्रदान गरेका थिए । शिविरमा वडाध्यक्ष कृष्णसिङ बानियाँले रोग पालेरै बसेका वृद्धवृद्धा तथा विभिन्न समस्याले अस्पतालसम्म जान नसक्ने बिरामीलाई ठुलो राहत मिलेको बताउनुभयो ।
विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविरबाट सदरमुकाम बेनी, पोखरा जानुपर्ने धेरै बिरामीलाई राहत मिलेको स्थानीय वृद्ध बलबहादुर खत्रीले बताउनुभयो ।