अविनाश चौधरी
धनगढी, मङ्सिर २१ गते । कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको हो ।
परिचय नखुलेका शङ्कास्पद व्यक्ति वा समूह अवैध तरिकाले कैलालीमा प्रवेश गर्न सक्ने भएकोले सुरक्षा निकायले चेकजाँचमा कडाइ गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । चुनावलगायत अन्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर चेकजाँचमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । उहाँले भारततिर पनि सुरक्षा व्यवस्था कडाइ गरेको उल्लेख गर्नुभयो ।
प्रशासनले परिचय नखुलेका शङ्कास्पद व्यक्ति वा समूहलाई जिल्लाभित्र प्रवेश गरेको देखेमा नजिकको सुरक्षा निकायमा जानकारी गराएर सहयोग गर्न आग्रह गरेको छ । यसैगरी, परिचय नखुलेका अपरिचित, शङ्कास्पद व्यक्ति वा समूह तथा समुदायलाई आफ्नो घरमा बसोबास र कुनै कामकाज गराउने काम नगर्न प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको छ ।