• २ असार २०८१, आइतबार

एकीकृत समाजवादी सचिवालय बैठक

समाजवादीको प्रमुख सचेतकमा सरला यादव मनोनित

blog

फाइल तस्बिर

काठमाडौं, असार २४ गते। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले पार्टीको तर्फबाट प्रतिनिधि सभाको प्रमुख सचेतकमा सरला यादवलाई मनोनयन गरेको छ। 

शुक्रबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकले सुदूरपश्चिम प्रदेश कमिटी नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा पूर्व सांसद एवं पार्टी केन्द्रीय समितिका सदस्य हर्कबहादुर सिंहलाई जिम्मेवारी दिने निर्णय गरेको छ। प्रवक्ता खतिवडाले बैठकमा पार्टीका आन्तरिक जीवनमा व्यवस्थापन गर्नुपर्ने विषयमा छलफल भएको बताउनुभयो। 

बैठकपछि संक्षिप्त कुराकानी गर्दै पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले केन्द्रीय परिषद् बैठकले निर्णय गरे बमोजिम १६५ वटा संघीय निर्वाचन क्षेत्र र ३३० वटा प्रादेशिक निर्वाचन क्षेत्रमा पार्टी संगठन विस्तार गर्ने, जनवर्गीय संगठन विस्तार गर्ने र पार्टी संगठनलाई राष्ट्रव्यापी रुपमा विस्तार गर्ने निर्णय गरेको जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो, ‘‘सचिवालयको बैठक सम्पन्न भयो। पार्टीलाई देशका १६५ वटा संघीय निर्वाचन क्षेत्र र ३३० वटा नै प्रादेशिक निर्वाचन क्षेत्रमा व्यापक रुपले पार्टी संगठन विस्तार गर्ने, जनवर्गीय संगठन विस्तार गर्ने, पार्टी संगठनलाई राष्ट्र व्यापीरुपमा विस्तार गर्ने निर्णय गरियो।’’

सम्मानित नेता खनालले मुलुक संघ र प्रदेशको निर्वाचनमय हुन लागेको भन्दै आगामी निर्वाचनका बारेमा तयारी गर्ने कुरालाई पार्टीले अघि बढाउने निर्णय भएको जानकारी दिनुभयो।