• २० मङ्सिर २०८२, शनिबार

पर्यटक तान्दै पुतलीबजार

blog

पोखराबाट एक घण्टाको यात्रापछि स्याङ्जाको पुतलीबजार पुग्न सकिन्छ । इतिहास, संस्कृति र प्रकृतिको अद्वितीय सङ्गम बनेको छ– पुतलीबजार । श्रवणकुमारको समाधिस्थल भई अन्धाअन्धी दहबाट बगेको पवित्र आँधीखोलासहित बाडखोला, अरौदीखोला, राङखोला, पिउरीखोला, सुरौदीखोला, दरौखोला, बैदीखोला जस्ता नदी र खोलाले पुतलीबजार नगरपालिकाको शोभा बढाइरहेको छ । 

पोखराबाट पुतलीबजारतर्फको यात्रा तय गर्दै गर्दा सिद्धार्थ राजमार्गमै पर्ने भालुपहाड नगरपालिका प्रवेशको गेट झैँ उभिएको भान हुन्छ । यो राजमार्ग भएर ओहोरदोहोर गर्नेहरू यहाँबाट देखिने मनमोहक दृश्य र धौवलागिरि, माछापुच्छ«े, अन्नपूर्णलगायतका हिमालको काखमा फोटो खिचिक्क पार्न पर्यटक औधी रुचाउँछन् । म्युजिक भिडियो, टिकटक खिच्न र रिफ्रेस हुन युवकयुवतीको ‘जक्सन’ नै बनिरहेको छ । सिद्धार्थ राजमार्गबाटै देखिने वडा नं. ४ मा पर्ने फूलबारी पार्कमा वनभोजको रमझम, स्याङ्जा भ्यु प्वाइन्ट तथा हरियाली उद्यान पार्कबाट छर्लङ्गै देखिने पुरानो पुतलीखेत बजार र मनमोहक दृश्य, भगवान् शिवको दर्शन र गुडीखोलामा अवस्थित श्री १००८ चम्पागिरि सन्न्यास आश्रम घुम्न पाइन्छ । धनुषेश्वर महादेवको मन्दिर विसं १९८३ सालमा श्री १००८ श्री गुरुमहाराज धिर्जे गिरीले स्थापना गरेको इतिहास पाइन्छ । आश्रममा रहेको धनुषेश्वर महादेव मन्दिरको हालसालै जीर्णोद्धार गरिएको छ । तामाको छाना र झ्यालढोका निकै कलात्मक राखिएका छन् ।  पुतलीबजार नगरपालिका धार्मिक गन्तव्यको केन्द्र पनि मान्न सकिन्छ । नगरको वडा नं. १ स्याङ्जा बजारको शिरमा रहेको धार्मिक सहिष्णुताको अनुपम नमुनाले नगरभित्र भएको धार्मिक सहिष्णुतालाई उजागर गरेको छ । यहाँ एकै ठाउँमा हिन्दु समुदायको राममन्दिर, साई केन्द्र, बौद्ध समुदायको बौद्ध गुम्बा र मुस्लिम समुदायको अहले सुन्नत जामे मस्जिद रहेको छ । फरक समुदाय र फरक धर्मावलम्बीले आआफ्ना आस्था र विश्वास अनुसार पूजाआजा गर्ने गरेका छन् । 

स्याङ्जाको मात्र नभई नेपालकै प्रसिद्ध सतौँ चण्डी मन्दिरलाई बाइसेचौबिसे राज्यको समयमा पश्चिमका चौबिसे राज्यहरूमध्येकै सबैभन्दा शक्तिशाली राज्य मानिन्थ्यो । सतौँकोटे राजाको इष्टदेवीका रूपमा पुजिने यस ठाउँमा रहेको चण्डी र कालिका गरी दुई वटा मन्दिर छन्; जुन मन्दिर झन्डै छ सय वर्ष पुरानो मानिन्छ । यस मन्दिरबाट नजिकै रहेको नगरपालिकाभित्रको सबैभन्दा अग्लो स्थानमा रहेको खर्सुको लेक समुद्री सतहदेखि दुई हजार एक सय मिटरको उचाइमा छ । यस स्थानमा विभिन्न ऋषि एवं भक्तहरूको तपस्यास्थल तथा कुटीहरूको भग्नावशेषले पालिकाको इतिहास झल्काउँछ ।  यसै नगरको वडा नं. ८ मा रहेको बहाकोट कालिका मन्दिरमा जे माग्यो, त्यही पुग्ने विश्वासका साथ पूजाआजा गर्ने गरिन्छ । यस मन्दिरमा पूजा गर्ने पुजारी मरासिनी थरका व्यक्तिलाई राजा पृथ्वीवीरविव्रmम शाहको पालादेखि व्यवस्था गरी हालसम्म पनि निरन्तरता दिइएकाले यो मन्दिर ऐतिहासिक रहेको छ । यस मन्दिरको इतिहास परापूर्व समयमा बाइसेचौबिसे राजाका पालाको रोचक किंवन्दतीसँग जोडिएको छ । सुतेका बाघ र बघिनीलाई सिकार गरेपछि त्यही स्थानमा भोलिपल्ट दुई दिदीबहिनी उत्पत्ति भएको र उनीहरूको नाम कुश्मावती र कण्ठावती रहेको किंवदन्ती पाइन्छ । ती दुई दिदीबहिनी विलप भएको स्थानमा बहाकोट कालिकाको मन्दिर निर्माण गरिएको मन्दिरका पण्डित धर्मराज मरासिनी बताउनुहुन्छ ।

यस मन्दिरमा विशेष गरी बडादसैँको नवमी, चैतेदसैँको अष्टमीलगायत प्रमुख दिनहरूमा कुश्मावती, कण्ठावती र देवीको पुजा हुने गर्छ । नगरपालिकाले हालसालै मन्दिरको नयाँ संरचना निर्माण गरेपछि भक्तजन एवं पर्यटकको आकर्षण बन्दै गएको छ ।

यसै मन्दिरनजिकै वडा नं. ९ मा रहेको पर्यटकीय गाउँ कोल्मा समुद्री सतहदेखि करिब १४ सय मिटरको उचाइमा छ । कोल्माकोट मन्दिरबाट माछापुच्छ«े, धवलागिरिलगायत आधा दर्जन हिमालको दृश्यावलोकन गर्न पाइन्छ । यहाँ आधा दर्जनभन्दा बढी घरमा सञ्चालित इको होमस्टेमा अर्गानिक खानासँगै परम्परागत शैलीका घरमा बसेर सालैजो र घाटुनाचमा रमाउँदा पर्यटक रोमाञ्चित हुन्छन् । 

कोल्मा बराहचौर खेलमैदानमा हुने विभिन्न जिल्लास्तरीय खेलले यो ठाउँ खेल पर्यटनका लागि समेत सम्भावना बोकेको गन्तव्य हो । तनहुँ र स्याङ्जालाई जोड्ने मिलेनियम ट्रेकको रुटले समेत कोल्मालाई समेटेको हुँदा यहाँ विदेशी पर्यटकको समेत चहलपहल देखिन्छ । बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको बौद्ध गुम्बाले यस ठाउँलाई अझ विशेष बनाएको छ । बहाकोटमा रहेको कैलाश गुफामा पौराणिक कालमा भगवान् महादेव आएर बसेको विश्वास गरिन्छ । यस गुफाभित्र चमेरो, चराहरूको वासस्थानसमेत छ । वडा नं. १३ को गोरुजुरेमा रहेको शीतलादेवी माईको मन्दिर दैवी आस्थाको केन्द्र मानिन्छ । विसं २०१८ मा कोटिहोम यज्ञ तथा अखण्ड कीर्तनपश्चात् यस मन्दिरमा विधिवत् रूपमा पूजापाठ सुरु गरिएको पाइन्छ । यस मन्दिरबाट अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिर आसपासका विभिन्न मनोरम स्थलको दृश्यावलोकन गर्नसमेत सकिन्छ । यसै नगरको वडा नं. ४ र ५ तथा फेदीखोला गाउँपालिका–२, दोसाँधमा अवस्थित नुवाकोटलाई नेपाल एकीकरणपूर्वको चौबिसे राज्य अन्तर्गतको एक शक्तिशाली राज्य मानिन्छ । यो एक ऐतिहासिक स्थल भएकाले यसको लोकप्रियता बढ्दो व्रmममा छ ।  स्याङ्जाको पुरानो सदरमुकामसमेत रहेको नुवाकोट समुद्री सतहबाट एक हजार नौ सय मिटरको उचाइमा छ । गोरखा मनकामनादेवीकी माइली बहिनीका रूपमा पुजिने सत्य मनकामना मन्दिर पनि यसै नगरमा अवस्थित छ । किंवदन्ती अनुसार एक ठकुरीको आङमाथि देवी चढेपछि उनी केही शब्द निकाल्दै ‘हे मनुष्य हो, म गोरखा जिल्लाको मनकामना देवीकी माइली बैनी हुँ । म भनेको मनकामना देवी हुँ’ भनेपछि सोही स्थानमा मन्दिर स्थापना गरी पूजाआजा गर्न थालिएको हो ।

यस नगरपालिकाका हुनीकोट, साँदीखोला, भैँसेडाँडा र चिरुवा, विम्दी ढाँडे, कोल्मा पोखरीछाप र चन्द्रकोट होमस्टेले पर्यटकलाई गाउँले खानपान र बसाइको स्वाद चखाइरहेका छन् । समुद्री सतहदेखि एक हजार १२० मिटरको उचाइमा रहेको ‘हुनीकोट’ बाट ‘ह्वाइट लेक’, उदाउँदो सूर्य र अस्ताउँदो सूर्यको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । यो ठाउँ विश्राम र सौन्दर्यको शान्त स्थल हो । यहाँबाट देखिने सुन्दर स्याङ्जा बजार, नागबेली भई बगेको आँधीखोला नदी, लामागे फाँट र हिमालले पर्यकटलाई आनन्दित तुल्याउँछ । 

यस्तै हलहलेमा रहेको सिद्धबाबा मन्दिर, सातधारा सिद्धगुफा, पौवैगौडेमा रहेको हरिहर मन्दिर र मन्दिरसँगै रहेका परम्परागत ढुङ्गेधारा, ठाँटी र ठुलाडिहीको बाजपुरमा रहेको चण्डीथान, वडा नं. ३ को मिर्मिरेमा अवस्थित शिवपञ्चाङ्ग मन्दिर, राधाकृष्ण मन्दिर र वडा नं. ११ को नागेश्वरधामलगायत थुप्रै मठमन्दिर पनि पर्यटकका लागि थप आकर्षणका केन्द्र हुन् । 

संस्कृति वाङ्मयको विकास धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देयले स्थापित वडा नं. १४ लामागेस्थित पाणिनि संस्कृत गुरुकुल आश्रमले पालिकाभित्रै संस्कृत भाषाको सिकाइमा योगदान पु¥याएको छ । पश्चिमका चौबिसे राज्यहरूको परापूर्वकालमा टक काट्ने ठाउँको नामले परिचित वडा नं. ६ टक्सार एक ऐतिहासिक ठाउँ हो । यसै स्थानमा राजा, रजौटेहरू भेला भएर टक अर्थात् सिक्का छाप्ने गर्थे । ती सिक्का चौबिसे राज्यहरूमा पठाई चलनचल्तीमा ल्याइएको  इतिहास पाइन्छ । पुतलीबजार साहसिक पर्यटनमा समेत सम्भावना बोकेको ठाउँ हो । वडा नं. १२ पेल्काचौरको ओलपहरोमा खेलिने ‘रक क्लाइम्बिङ’ साहसिक पर्यटनको अथाह सम्भावना बोकेको ठाउँ हो । सतौकोट, खर्सुको लेक, हुनीकोट, पेल्काचौरलगायतका स्थानमा प्याराग्लाइडिङमा उड्न पाइन्छ । आँधीखोलामा ¥याफ्टिङको मजा लिन पनि पाइन्छ । वनभोज र शान्त वातावरणमा रमाउन वडा नं. ३ मा रहेको घलमडाँडा स्थानीयको रोजाइमा पर्ने गरेको छ । वडा नं. ७ को भारकोटमा रहेको बुद्धस्तूपा र ध्यानकेन्द्र, ठुलाडिहीमा निर्माणाधीन सुन्दर तालले पनि भविष्यमा पर्यटकलाई आकर्षित गर्न सक्ने अपेक्षा गर्न सकिन्छ । नगरभित्र रहेका दर्जनौँ पर्यटकीय एवं धार्मिक र ऐतिहासिक स्थलको प्रवर्धन गर्दै गण्डकी प्रदेशको सदरमुकाम पर्यटकीय राजधानी पोखरासम्म आएका पर्यटकलाई स्याङ्जासम्म ल्याउने र विश्वमाझ चिनाउने कार्यमा आफूहरू लागिरहेको नगरप्रमुख तुलसीराम रेग्मी बताउनुहुन्छ । आँधीखोला, बाडखोला र अरौदीखोलाको सङ्गमस्थललाई त्रिवेणीधामका रूपमा पर्यटकीय एवं धार्मिक गन्तव्य बनाउने तयारी थालिसकेको समेत उहाँको भनाइ छ । 

बर्खाको समयमा निथु्रक्कै भिजेको हरियाली होस् वा टण्टलापुर घामको रापमा टल्केको, चराको चिरबिर आवाज; या थरीथरीका फूलको बास्नाले पुतलीबजारलाई सुगन्धित र सुन्दर बनाएको छ । लटरम्म फल्ने सुन्तला र कफी बगैँचाले पर्यटनका साथै पालिकाको आर्थिक अवस्थासमेत मजबुत बनाएको छ । फरक समुदायका फरक संस्कृतिले एकआपसको आत्मीयतालाई थप प्रगाढ बनाएको छ ।