• २० मङ्सिर २०८२, शनिबार

नारायणगोपालले गाउन नभ्याएको गीत

blog

केही मिठो बात गर

रात त्यसै ढल्किँदै छ

भरे फेरि एकान्तमा रुनु त छँदै छ

नेपाली आधुनिक गायनमा नारायणगोपाल गुरुवाचार्यको विशिष्ट स्थान छ । नेपाली चलचित्रमा स्वर दिएर नारायणगोपालले चलचित्र गीत÷सङ्गीतको विकासमा महŒवपूर्ण इँटा थपेका पनि थिए तथापि गाउने पक्कापक्की भएर पनि चलचित्र ‘लोभीपापी’ मा नारायणगोपालले गीत गाउन सकेनन् । 

त्यसो त गाउने भनेर निधो भइसकेको चलचित्र ‘माइतीघर’ को ‘जिन्दगीलाई हारले हैन’ गीत पनि नारायणगोपालले गाउने अवस्था भएन । निर्देशक यादव खरेलका दुई चलचित्र ‘चेलीबेटी’ र ‘लोभीपापी’ का गीत नारायणगोपालले गाउने पक्का भएर पनि गाउन पाएनन् । निर्देशक खरेलका अनुसार चलचित्र ‘चेलीबेटी’ का लागि ‘तिम्रो आँखाको सागरमा’ र ‘लोभीपापी’ को ‘भन्दछन् माया र लडाइँमा’ बोलका गीतहरू नारायणगोपालले गाउने तय भएका गीतहरू थिए । यी गीत रेकर्ड गर्न पूर्वतयारीसमेत गरिएको थियो । 

सङ्गीतकार शम्भुजित बाँस्कोटाका अनुसार ती दुवै गीतका सम्भावित परिणामबाट असाध्यै खुसी थिए, नारायणगोपाल । अचानक स्वास्थ्यस्थिति बिग्रेपछि भने नारायणगोपाल रेकर्डिङका लागि बम्बई जान सकेनन् । बम्बई जान सकेको भए नारायणगोपालले त्यहाँ ‘लोभीपापी’ कै दुई वटा गीतसहित अर्को गीत ‘चाँदीको भित्ता, सुनको छानो’ र ‘न मेरो घरै छ, न जागिरको भरै छ’ पनि गाउनेवाला थिए तर त्यस्तो हुन सकेन ।

आशागोपाल गुरुवाचार्य र राममाया गुरुवाचार्यका नौ सन्तानमध्ये माहिलो सन्तानका रूपमा १९९६ असोज १८ गते जन्मिएका नारायणगोपालका गीत प्रायः लोकप्रिय छन् । विशेष गरी चलचित्रमा उनले गाएका गीतको चर्चा गर्दा ‘चिनो’ का लागि गाएको ‘मोहनी लाग्ला है’ को अपार लोकप्रियता र ‘दक्षिणा’ का लागि गाएको ‘यो देहलाई कसरी सम्झाई बुझाऊँ’ को संवेदनशीलता अतुलनीय छ, अवर्णनीय छ । यस्तै चलचित्र ‘सिन्दूर’ को ‘लुकुँ लुकुँ लाग्यो मलाई’ बोलको गीतलाई त्यो समयको अति सुमधुर गीतका रूपमा लिन सकिन्छ । वास्तवमा भन्ने हो स्वरसम्राट् नारायणगोपालले चलचित्रका लागि गाएका सबै गीत अवर्णनीय छन् भन्नु पर्छ । 

अमर सङ्गीतसाधक नारायणगोपालले १२ वटा चलचित्रका लागि २२ वटा गीत गाएका छन् । चलचित्रतर्फ उनको यात्राको आरम्भ ‘परिवर्तन’ बाट भएको थियो । यो चलचित्रका लागि उनले गाएको पहिलो गीत ‘बुझ्नै सकेनौ तिमीले’ थियो । उनले यही चलचित्रका लागि दुई वटा अरू गीत पनि गाएका थिए । तीमध्ये ‘बैनीको दया छ’ बोलको एउटा लोकभाकाको गीत पनि पर्छ । नारायणगोपालले आफ्नो साङ्गीतिक जीवनमा थोरै मात्र लोकभाकाका गीत गाएका थिए । तीमध्ये यो एउटा पनि पर्छ ।  नारायणगोपाल सितिमिति कसैको गीत गाउँदैनथे । चलचित्रमा पनि धेरैले उनलाई गीत गाउन दिन चाहेका थिए तर धेरैको प्रयास सफल हुन सकेन । ती सबका पछाडि विविध कारण छन् । ‘माइतीघर’ चलचित्रका लागि पनि भारतका विख्यात सङ्गीतकार जयदेवले नारायणगोपालको स्वरमा एउटा गीत रेकर्ड गराउन चाहेका थिए । विशेष गरी ‘जिन्दगीलाई जित हैन हारले स्वागत’ बोलको गीत उनकै लागि छुट्याइएको थियो । नारायणगोपाल त्यतिबेला भारतको बडौदामा शास्त्रीय सङ्गीत अध्ययन गर्दै थिए । उनलाई सोही गीत रेकर्डिङका लागि बडौदाबाट बम्बई (हाल मुम्बई) बोलाइएको थियो । गीतका लागि रिहर्सल पनि सुरु भयो । सङ्गीतकार जयदेव नारायणगोपालबाट ज्यादै प्रभावित भएका थिए । रिहर्सल हुँदै गर्दा गीत रेकर्डिङका लागि स्टुडियो पनि बुक गरियो तर अचानक नारायणगोपाललाई रुघाखोकीले नराम्ररी च्याप्यो । त्यसपछि उनले त्यो गीत गाउन सकेनन् । बाध्य भएर भारतीय गायक मन्नाडेको स्वरमा त्यो गीत रेकर्ड गराइयो । 

नारायणगोपाललाई दम्भी, हठी र अहङ्कारी स्वभावका भनेर धेरैले भन्ने गर्थे तर चलचित्र निर्देशक लक्ष्मीनाथ शर्माको धारणा भने बेग्लै छ । यस सन्दर्भमा उनी त्यस्तो स्वभावका थिएनन् भनी निर्देशक शर्माले बताउनुभएको छ । उहाँका अनुसार ‘बदलिँदो आकाश’ चलचित्रका लागि शीर्ष गीत गाइदिन अनुरोध गर्दा नारायणगोपालले पहिला चलचित्र कथाबारे जान्न खोजेका थिए । अनि गीत कुन प्रसङ्गमा प्रयुक्त हुने भन्नेबारेमा जान्न खोजे ।

निर्देशक शर्मा त्यस समयको स्मरण गर्दै भन्नुहुन्छ, “मसित उहाँले कुनै बाङ्गो कुरा पनि गर्नुभएन, न त कुनै अभिमान नै देखाउनुभयो । बरु मैले गीत यहीँ नेपालमा रेकर्ड गर्छु भन्दा उहाँ औधी खुसी हुनुभयो ।”

नारायणगोपालको अन्तिम गीत कुन हो भन्नेबारेमा जहिले पनि चर्चा चलिरहेको हुन्छ । विवाद भइरहेको हुन्छ । संजोगवश कालजयी सङ्गीतसाधक नारायणगोपालका अन्तिम गीतहरू चलचित्रका लागि नै रेकर्ड गरिएको थियो र सबैभन्दा अन्तिम रेकर्डिङ ‘चोट’ का लागि ‘विरही माया अधुरै रह्यो’ बोलको गीत थियो तर प्रकाशमा आएको अन्तिम गीत भनेको ‘दक्षिणा’ मा प्रयोग गरिएको ‘यो मुटुलाई कसरी’ बोलको गीत थियो । यो गीत भने ‘चोट’ को गीतभन्दा धेरै पहिला रेकर्ड भइसकेको थियो । त्यो गीत निर्देशक तुलसी घिमिरेले रनजित गजमेरको सङ्गीतमा ‘कोसेली’ का लागि रेकर्ड गराएका थिए तर कुनै कारणवश त्यो गीत ‘कोसेली’ मा प्रयोग हुन सकेन । पछि ‘दक्षिणा’ मा प्रयोग गरियो । ‘चोट’ चलचित्रका सङ्गीतकार भूपेन्द्र रायमाझी हुन् । सङ्गीतकार रायमाझीका अनुसार नारायणगोपालले ‘चोट’ कै लागि ‘किन तिमी आज यस्तो’ बोलको गीत पनि गाउने निधो भएको थियो । रिहर्सल पनि भएको थियो तर पछि स्वरसम्राट् नारायणगोपालको अस्वस्थताले गर्दा रेकर्ड हुन नसकेको कुरा सङ्गीतकार रायमाझी बताउँछन् । यसरी सबैको मनमस्तिष्कमा अमिट छाप छोडेर ३५ वर्षअघि अर्थात् २०४७ साल मङ्सिर १९ गने राति ९ः२५ बजे आफ्नो नश्वर शरीर त्यागेका नारायणगोपालका सयौँ गीत हाम्रो स्मरणमा सधैँ गुन्जिइरहेका छन्–

विरही माया अधुरो रह्यो बिर्सनु कसरी

तड्पाइदिन्छ जलाइदिन्छ याद आउँछ बेसरी