सुधा देव
भारदह(सप्तरी), मङसिर २० गते । सप्तरीको विष्णुपुर गाउँपालिका ६ रंजितपुरमा बालविवाह न्यूनीकरणका लागि प्रहरीसँग साझेदारी कार्यक्रमअन्तर्गत सडक नाटक, र्याली तथा हस्ताक्षर सङ्कलन कार्यक्रम शुक्रबार गरिएको छ ।
प्रविधिको प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौ नारासहित अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरूद्ध १६ दिने अभियानअन्तर्गत बालविवाहविरूद्ध प्रदेश स्तरीय सञ्जाल, सेभ द सप्तरी, परिकल्पना नेपाल सप्तरी आयोजना तथा जिल्ला प्रहरी कार्यालय सप्तरीको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो ।
बालविवाह न्यूनीकरणका लागि रंजितपुरमा जनचेतनामूलक सडक नाटक गरिएको थियोे । सडक नाटकमा स्थानीय बालसञ्जालका बालबालिकासहितले अभिनय गर्नुभएको थियो ।
जबसम्म हुँदैन २० वर्ष पूरा तबसम्म नगरौँ विवाहको कुरा, बेटी बचाउ, बेटी पढाउ, छोराछोरी बराबरी बालविवाह अन्त्य गरौँ, बालविवाह जिन्दगी तवाह, बाल विवाह सामाजिक अपराध हो, लगायत नारा लगाएर स्थानीय, विद्यार्थी, प्रहरी, संघसंस्थाका कर्मचारीहरू लगायतको उपस्थितमा रंजितपुर टोलबाट निकालिएको र्याली रंजितपुर चोकसम्म पुगेर समापन भएको थियो ।
कार्यक्रममा धर्मगुरू, शिक्षक, स्थानीय जनप्रतिनिधि, सरोकारबाही, प्रहरी लगायतलाई बालविवाह गराउँदैनौं, बालविवाहको जन्ती भोजलगायत कुनैपनि कार्यक्रममा सहभागी गराउँदैनौँ, बालविवाहलाई सधैँ निरूत्साहित गर्नेछौँ भनी प्रतिबद्धतासहित हस्ताक्षर गरिएको थियोे ।
कार्यक्रम सेभ द सप्तरीका कार्यक्रम संयोजक फरजाना अक्रम, कार्याालय सहायक राम सागर मेहता, फिल्ड अफिस सिल्पा देव, परिकल्पना नेपालका उपाध्यक्ष सुनिता परियार, कोषाध्यक्ष डोलि सिंह, सदस्य सवाना प्रविण, कार्यक्रम संयोजक रिमा चौधरी, लेखापाल नरेश चौधरी, प्रहरीहरू लगायत स्थानीयको उपस्थिति रहेको थियोे ।