गोरखापत्र अनलाइन
पाटन (ललितपुर), मंसिर १८ गते । बिहीबार प्रसिद्ध बङ्गलामुखी दर्शन गर्न दर्शनार्थीको उसै पनि भिड हुन्छ । त्यसमा पनि नेवार समुदायको ठुलो चाड योमरी पुन्हिको विशेष दिन भएकाले बिहीबार बङ्गलामुखी क्षेत्रको माहोल निकै रौनक थियो । योमरी चाडको अवसरमा सार्वजनिक विदा परेकाले स्थानीय सर्वसाधरण र तीर्थालु भक्तजनको घुँइचो थियो ।
भिडमा सङ्घीय सरकारको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल बङगलामुखी मन्दिर परिसर पुग्नुभयो । मन्त्री आउने स्थानीय जनप्रतिनिधिले समेत पत्तो पाएका थिएनन् । मन्त्री बङ्गलामुखी क्षेत्रमा आएपछि स्थानीय सर्वसाधरण मात्र हैन, जनप्रतिनिधि समेत छक्क पर्नुभयो । सरकारको एउटा जिम्मेवार मन्त्री यसरी जनताको घर टोलमा पुगेर जनताको सुभाव, पिर मर्का र सम्बोधन गरिनु पर्ने विषय प्रत्यक्ष राख्न पाउँदा स्थानीय खुशी हुनुभयो ।
“पहिला मन्त्री भेट्न सिंहदरबार जानुपथ्र्यो । अहिले मन्त्री नै जनता भेट्न घरदैलोमा आउनुभयो” स्थानीय प्रर्णव श्रेष्ठले भन्नुभयो, “हामी स्थानीयबासी छक्क परेका छौं, यस्तो पनि हुने रहेछ । नागरिक सरकारको साच्चिकै अनुभूति भयो । यसरी नागरिकले मन्त्रीलाई पत्यक्ष भेटेर घरटोलमै समस्या राख्न पाउनु भाग्यकै कुरा हो ।”

श्रेष्ठले मन्त्री वडा कार्यालय पुगेको पनि पहिलो इतिहास भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको मन्त्री यसरी वडा कार्यालयमा आएको पनि पहिलो पटक हो, जनतासँगै घरदैलोमा गएर कुरा सेन्ने र सुझाव लिने पनि पहिलो अनुभव रह्यो ।”
बंगलामुखीस्थित गुठीमा स्थानीय रेणु महर्जन यमोरी पुन्हीको परिकार पकाउने काममा व्यस्त हुनुहुन्थ्यो । स्थानीय आफन्त र साथीभाइका साथ योमरी, तरकारिका परिकार बनाइरहेकी महजर्नले सञ्चारमन्त्री देखेपछि दङ्ग पर्नुभयो । काम गरिरहेकै स्थानमा मन्त्री आएर कुराकानी गर्दा महर्जनको मुहारमा खुशीको उमङ्ग भल्कियो ।
“मन्त्रीलाई प्रत्यक्ष भेट्न पाउँदा असाध्य खुशी लागेको छ । यो क्षणलाई शब्दमा बयान गर्न सक्दिन । यसरी कोही पनि मन्त्री आएका थिएनन्” महर्जनले लजालु भावले हर्षित मुद्रामा भन्नुभयो । सँगै काम गरिरहेकी सन्तु महर्जनलाई पनि मन्त्रीलाई भेट्न पाउँदा खुशी लाग्यो । उहाँले भन्नुभयो, “मन्त्री घरदैलोमै आएर कुरा गरेको पहिलो पटक हो । यसरी सरकार घरमै आइपुग्दा खुशीको सीमा छैन ।”
गुठीको सिँडीमा घाम तापिरहनुभएका ८७ वर्षीय बाबुलाल महर्जनले पनि मन्त्रीलाई आफ्नै क्षेत्रमा भेटेर भलाकुसरी गर्न पाउँदा अनौठो लागेको रहेछ । उहाँले भन्नुभयो, “यो उमेरमा यसरी मन्त्री आएर दुःख, पीरमर्का सोध्नुभयो, मैले आफ्नो कुराहरु राख्ने अवसर पाएँ । असाध्यै खुशी लागेको छ ।”

स्थानीय महेन्द्र महर्जन पनि पहिला मन्त्रीहरु हाइफाई गरेर हिड्थे । अहिले यसरी मन्त्री घरमै आएर जनतासँगै भलाकुसारी गर्दा खुशीको सीमै रहेन । मन्त्री जनताको घरदैलोमा आएर समस्या बुझ्ने र सुझाव लिइरहँदा नागरिक सरकारको अनुभूति भएको उहाँले उल्लेख गर्नुभयो । सिंहदरबार पुगेर मन्त्रीसँग कुरा राख्न समय र समस्या दुवै हुन्छ । मन्त्री स्वयम नै स्थानीय समुदायमा गएर जनताको घरदैलोमा पुगेर जनतासँग सुख दुःखका कुरा गर्ने, जनताको समस्या बुझ्ने र सुझाव लिने चलन एकदम राम्रो छ । जेनजी आन्दोलनमा बनेको वर्तमान नागरिक सरकारले नागरिककै मुद्दा, सुझाव र सरकारले गर्नुपर्ने दायित्वका बारेमा सरकार जनताको घरदैलोमा पुगिरहेको छ ।
घर टोलमै गएर केहीबेर मन्त्रीज्यूले साक्षात्कार गर्नुभयो । मन्त्रीसमक्ष केही जेन्जीपुस्ता तथा पुराना जनप्रतिनिधिहरुले पनि आफ्ना कुरा राखे । स्थानीयको सुझाव ग्रहण गर्दै मन्त्रीले टोल समुदायको अवस्था, सरकारले गर्नुपर्ने कामको बारेमा समेत सुझाव लिनुभयो । सञ्चारमन्त्री खरेलले मन्दिर दर्शनपछि स्थानीय समुदायसँग साक्षात्कार गर्नुभयो । उहाँले वडा ११ को कार्यालयमा जनप्रतिनिधि र सर्वसाधरणसँग सरकारले गर्नुपर्ने दायित्वबारे सुझाव लिनुभयो ।
सञ्चारमन्त्री खरेलले भन्नुभयो, “जनताको घरदैलोमा पुगेर जनताको पीरमर्का सुन्न पाउँदा मन्त्री भएको महशुस हुन्छ । जनतालाई आफ्नो सरकार भएको महशुस हुन्छ । कालो शिशा भएको गाडीमा अनुहार नदेखिनेगरी हिड्यो । जनतासँग साक्षात्कार नहुने र उनीहरुको समस्या नसुन्ने अवस्थाको अन्त्य हुनुपर्छ । सरकार सिंहदरबारमा मात्रै केन्द्रित हुनु हुदैन सम्भव भएसम्म जनताको घरदैलोमा पुग्नुपर्छ ।”
सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पछिल्लो समय जनताको घरटोलमै पुगेर उनीहरुको समस्या बुझ्ने, पीर मर्का सुन्ने र सरकारले सम्बोधन गर्नुपर्ने विषयको सुझाव लिइरहनुभएको छ । यसै शिलशिलामा सञ्चारमन्त्री खरेलले बिहीबार पाटन बंगलामुखी क्षेत्र पुगेर जनता, जनप्रतिनिधि एवं सरोकारवालासँग साक्षात्कार गर्नुभएको हो ।
मन्दिरको दर्शन गर्नुका साथै ललितपुर महानागरपालिका वडा ११ का जनप्रतिनिधि र त्यहाँका नागरिकसँग साक्षात्कार गर्नुभयो । नागरिकको घरदैलो पुगेर उनीहरुको कुरा सुन्ने, समस्या पहिचान गर्ने लगायत काम पनि सञ्चारमन्त्रीले गर्नुभयो ।

ललितपुर महानगरपालिका वडा ११ का कार्यबाहक वडा अध्यक्ष जुवन तण्डुकारले सङ्घीय मन्त्रीले स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग साक्षात्कार गरेर जनताको नजरमा उदाहरणीय काम भएको उल्लेख गर्नुभयो । उहाँले बंगलामुखी क्षेत्रको सडक गल्लीको तार व्यवस्थापन र सञ्चार सेवालाई प्रभावकारी बनाउन सञ्चारमन्त्री समक्ष माग गर्नुभयो ।
सोही वडाका वडा सदस्य सचिना परियारले जनताको घरदैलोमा पुगेर मन्त्रीले जनताको गुनासो सुन्ने र सुझाव ग्रहण गर्ने प्रसंशनीय कार्य भएको बताउनुभयो ।
सञ्चारमन्त्री खरेलले मंगलामुखी मन्दिर प्राङ्गढको कुम्भेश्वर महादेवलगायत मठ मन्दिरको दर्शन गर्नुभयो । बंगलामुखी मन्दिरका पुजारी पुस्प कपालीले मन्दिर परिसरको विभिव विषयमा सञ्चारमन्त्रीलाई जानकारी गराउनुभयो ।
सञ्चारमन्त्री खरेलले बंगलामुखी मन्दिर तथा परिसरमा रहेका वास्तुस्थिति तथा यसका कलाकृतिहरुको समेत अवलोकन गर्नुभयो । मन्दिर नजिकको दुई ढुंगेधारा, कोनाहिटी लगायतको अवलोकन गर्नुभयो । पाटन दरबार क्षेत्रबाट केही मिनेट उत्तरमा पर्ने बंगलामुखी मन्दिर ललितपुरको महत्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ ।
बगलामुखी मन्दिर, कुम्भेश्वर मन्दिर परिसरमा रहेको छ । बंगलामुखी मन्दिरमा बिहीबारको दिन पूजा गर्न आउने भक्तजनको ठुलो भिड लाग्छ । बंगलामुखी कुम्भेश्वर (सर्रवेश्वर मुत्युञ्जय महादेव) मन्दिरको दक्षिणतर्फ छ । तन्त्रशास्त्रअनुसार दस महाविद्यामध्ये बंगलामुखी पनि एक हो । बृहस्पतीको स्वामी भएको हुनाले, बृहस्पतीको ग्रह पीडा पाउने उद्देश्यले बिहीबार दर्शन गर्ने गरिन्छ । बंगलामुखीको दर्शनबाट मनोकांक्षा सिद्धि हुने विश्वास गरिन्छ ।

उहाँले भन्नुभयो, “ललितपुरबाट सुरु भएको छ । सम्भव भएका ठाउँमा मन्त्रीहरु नागरिकै बिचमा पुगेर उनीहरुको सुझाव लिने, दुख अफठ्यारा कुरा बुझ्ने गरिएको छ । सकेसम्म हरेक हप्तामा दुईदेखि तीन नागरिककोबिचमा गएर उनीहरुको सवाल, समस्या सुझाव र पिरमर्का बुझ्ने काम गर्नेछौं । सरकार सिंहदरबारतिर मात्रै केन्द्रित हुनु हुदैन । सिंहदरबारमा नागरिकको पहुँच हुँदैन, त्यसैले उनीहरुको कुरा सिंहदरबार पुग्न सक्दैन ।”