न्युयोर्क, मङ्सिर १८ गते । संयुक्त राष्ट्रसङ्घीय महासभाले युक्रेनी बालबालिकालाई जबरजस्ती रूसमा नराखी तत्काल बिना शर्त फिर्ता गर्न आह्वान गदै यो सवाल किभ र मस्कोबिचको सम्भावित शान्ति सम्झौताको सम्बन्धमा सबैभन्दा संवेदनशील विषय भएको बताएको छ ।
महासभाले जबरजस्ती स्थानान्तरण वा निर्वासन गरिएका सबै युक्रेनी बालबालिकाको तत्काल, सुरक्षित र बिना शर्त फिर्तीको आवश्यकतालाई पुष्टि गर्ने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्तावलाई ९१ देशले समर्थन गरेका छन् भने रूससहित १२ वटा देशले यसको विरुद्धमा मतदान गरेको र ५७ देश अनुपस्थित रहेको जनाइएको छ ।
महासभाले मस्कोलाई निर्दोश बालबालिकाको जबरजस्ती स्थानान्तरण, निर्वासन र पारिवार विहिनता रोकी पालन पोषणको माध्यमबाट बालबालिकाको कानुनी स्थिति परिवर्तन नगर्न आह्वान गरेको छ । युक्रेनी उप-विदेशमन्त्री मारियाना बेत्साले महासभामा रूसले युद्ध सुरु भएदेखि कम्तिमा २० हजार युक्रनी बच्चालाई अपहरण गरेको बताउदै अहिलेसम्म एक हजार ८५० भन्दा बढी बालबालिका युक्रेनमा फर्काइएको उल्लेख गर्नु भएको छ ।
युक्रेनी बालबालिका तत्काल बिना शर्त घर फर्किए मात्र युक्रेनमा न्यायपूर्ण शान्ति हुने बेत्साले बताउनु भएको छ । यसको प्रतिक्रियामा, रूसी उप-राजदूत मारिया जाबोलोत्स्कायाले प्रस्तावलाई अस्वीकार गरी यो आरोप झुटो भन्दै प्रस्तावको विरोध गर्नु भएको छ । रासस/क्यूएनए