सन्तोष दहित
दाङ, मङ्सिर १८ गते । तुलसीपुर उपमहानगरपालिका–१४, मटेराका पूर्णबहादुर चौधरी ‘नमूना किसान’ को रूपमा चिनिनुहुन्छ । एक समय अधिया खेतीकै भरमा परिवार पाल्न बाध्य पूर्णबहादुर तरकारी खेती गरेर दुई बिघा जमिन खरिद गर्नुभएको छ ।
पूर्णबहादुरले अहिले गाउँमा व्यावसायिक तरकारी खेती गरेर बर्सेनि १४ लाख भन्दा बढी रुपियाँ आम्दानी गर्दै आउनु भएको छ । “दुई बिघा १५ कट्ठा जग्गामा व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएको छु”, उहाँले भन्नुभयो, “अहिले २५ सयभन्दा बढी काउली, २ हजारभन्दा बढी बन्दागोभी, आलु, खुर्सानी, टमाटर रोपेको छु, त्यस्तै तोरी, मकै र वर्षा याममा धान पनि लगाउँछु ।”
२५ वर्षदेखि निरन्तर तरकारी खेती गर्दै आउनुभएका पूर्णबहादुर यसअघि गाउँमा अधिया खेती गर्दै आउनुभएको थियो । अधिया खेतीले परिवार धान्न पनि मुश्किल भएपछि व्यावसायिक रूपमा तरकारी खेती गर्न सुरु गरेको उहाँको भनाइ छ । “१२ कट्ठा बाट सुरु गरेको तरकारी खेती अहिले दुई बिघाभन्दा बढी जग्गामा लगाउनुभएको छ ।
उहाँले भन्नुभयो, “पहिला सिँचाइ नहुँदा पानीका लागि धेरै दौडधुप गर्नु पर्थ्याे, पानीकै लागि धेरै दुःख थियो । अब त बबई नदीबाट लिफ्ट सिँचाइ बनेपछि पानीको लागि दुःख छैन, सिँचाइमा पहिलाभन्दा धेरै सहज भएको छ ।” सुरुमा मैले आफ्नै लगानीमा डिप–बोर्डिङ बनाएको थिएँ, पाँच वर्षअघि सरकारले बबई नदीबाट लिफ्ट सिँचाइ बनाइ दिएपछि मलाई मात्र नभएर गाउँलेलाई समेत सजिलो भएको छ, उहाँले भन्नुभयो ।
अहिले आफूसँगै गाउँका ३० घरकाले पनि व्यावसायिक तरकारी खेती गर्दैआएको उहाँले बताउनुभयो । “मेलै उहाँहरुलाई तरकारी खेती गर्न प्रेरित गरें, उहाँले भन्नुभयो, “गाउँको दाजुभाइ मेरो कामबाट प्रभावित पनि हुनुभएको छ, म धेरै खुसी छु ।” तरकारी खेतीबाट आफूले अहिले दुई बिघा जमिन जोडेको उहाँले बताउनुभयो ।
“अहिले त्यो जग्गाको मूल्य करिब दुई करोड रुपियाँ पर्छ । उहाँले भन्नुभयो, “छोराछोरीको पढाइमै धेरै खर्च भयो, नत्र १२–१३ बिघासम्म जग्गा जोड्थे होला ।” छोराछोरीका लागि शिक्षामा लगानी गरेर पनि गर्व लागेको बताउँदै उहाँले थप्नुभयो, “आफू धेरै पढ्न नपाए पनि छोराछोरीलाई पढाउन पाएकोमा मेरो मन खुसी छ ।”
आफ्नो छोराछोरीसहित भाइ र भान्जीलाई समेत पठनपाठनको जिम्मेवारी निर्वाह गरिरहेको उहाँले बताउनुभयो । उहाँको अनुसार एक छोरी जापानमा मास्टर्स अध्ययन गरिरहेकी छन् । अर्को छोरी बैँकमा जागिर पाएकी छन् । छोराछोरी पढेलेखेर जिम्मेवारी निर्वाह गर्ने भएपछि गर्व महशुस भएको उहाँले बताउनुभयो ।
२०७४ को स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि बनेका पूर्णबहादुर अहिले कृषि खेतीमा जमेको देख्दा गाउँका सदस्यहरू पनि खुसी छन् । आफ्नै परिश्रमले उभिएको सफलताले उहाँलाई गाउँ समुदायका लागि उदाहरणीय बनाइदिएको छ । आफूले उत्पादन गरेको तरकारी कहिलेकाँही बजार नपाउँदा भने निराश बनाउने गरेको उहाँले बताउनुभयो ।
“कहिलेकाहीँ बजार नपाएर तरकारी कुहिन्छ, कहिले गाउँबाट बोकेर बजारसम्म तरकारीको मूल्य आफूले भनेको नपाउँदा मन दुख्छ” उहाँले भन्नुभयो, किसानले उत्पादनको मूल्य आफैं निर्धारण गर्न पाउनु पर्छ ।”
व्यावसायिक खेतीमा नाफा–घाटा सामान्य भए पनि कृषि क्षेत्रलाई सम्मानजनक व्यवसायको रूपमा स्थापित गर्न सरकारले बजार व्यवस्थापनमा लाग्नुपर्ने उहाँको भनाइ छ। तरकारीसँगै मकै, धान र तोरी खेतीमा पनि उत्तिकै सक्रिय पूर्णबहादुरको सुन्दर तरकारी बारी हेर्न अहिले बजारतिरबाटै मानिसहरू मटेरा पुग्छन् ।
“पूर्णबहादुरको निरन्तर मेहनत र परिश्रम साँच्चिकै लोभलाग्दो छ, थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीले भन्नुभयो, “मान्छेले आँट र सङ्कल्प गरेमा घरमै बसेर पनि जीवन परिवर्तन गर्न सकिदो रहेछ । उत्कृष्ट उदाहरण पूर्णबहादुर हुन् ।” राज्यले किसानलाई सहुलियत दरमा मल, बीउ–बिजन, सिँचाइ र उत्पादनको बजार व्यवस्थापन उपलब्ध गराएमा स्वदेशमा कृषकहरू आत्मनिर्भर बन्नसक्ने उहाँको भनाइ छ ।