ज्ञानु पंगेनी
मध्यविन्दु, मङ्सिर १८ गते । नारायणगढ –बुटवल सडक विस्तार आयोजना अन्तर्गत नवलपुर खण्डमा अहिले सर्भिस लेनको काम चलिरहेको छ । गैंडाकोट नगरपालिका र देवचुली नगरपालिकाका बस्ती क्षेत्रहरूमा धमाधम सर्भिस लेन निर्माणको काम भइरहेको हो ।
गैँडाकोटको भेडाबारी, हर्कपुर, बेल्डिया, अमरापुरी लगायतको क्षेत्र, देवचुलीको, दुम्कौली, दलदले लगायतका क्षेत्रमा सर्भिस लेनको काम चलिरहेको छ । आयोजनाले गैँडाकोटदेखि कावासोतीको केरुगे खोला पुलसम्म मात्रै सर्भिस लेनको काम गर्ने जनाएको छ ।
आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार गैँडाकोटदेखि कावासोतीको केरुगे खोला पुलसम्म दुवैतर्फ १७ –१७ किलोमिटर गरी ३४ किलोमिटर सर्भिस लेन निर्माण गरिने छ । अहिलेसम्म ६ किलोमिटरभन्दा बढी क्षेत्रमा कालोपत्रे सम्पन्न भइसकेको सूचना अधिकारी खनालले जानकारी दिनुभयो । डण्डादेखि दुम्कीवाससम्म भने ,सर्भिस लेन निर्माण गर्ने भन्ने, डिजाइनमै नभएको खनालले बताउनुभयो । यहाँका स्थानीले पनि सर्भिस लेनको माग गरिराखेको हुँदा अर्काे चरणमा समावेश गर्न सकिने तर,अहिले भने डिजाइनमै नभएको हुँदा काम नहुने खनालको भनाइ छ ।
सर्भिस लेन निर्माणको काम चिसो मौसममा भने गरिने छैन । ‘सर्भिस लेनको काम पुरानो प्रविधि मार्फत हुने भएकाले तापक्रम मिल्दैन । यसका लागि पर्याप्त तापक्रम चाहिन्छ , चिसो मौसममा त्यो सम्भव हुँदैन । त्यसैले हामीले पुस र माघ महिनामा काम गर्दैनौ फागुनको अन्तिम साताबाट फेरि काम हुन्छ । ’ खनालले भन्नुभयो ।
युटर्न राख्ने विषयमा स्थानीयसँग मतभेद
सर्भिस लेनको विषयमा धेरै जनमानसमा बुझाई फरक रहेको सूचना अधिकारी खनालले बताउनुभयो । ‘हामीले काम गर्दा कतिपय स्थानीयसँग विवाद भएको छ । बाटो आरपार गर्ने (युटर्न) ठाउँठाउँमा चाहियो भन्नुहुन्छ तर, हामीले चोकै पिच्छे (युटर्न) राख्न सडक सुरक्षाका हिसाबले मिल्दैन ।’ खनालले थप्नुभयो, ‘सर्भिस लेन भनेको प्रार्किङ्ग गर्ने प्रयोजनका लागि मात्रै हो भन्न, बुझाई जनमानसमा छ तर, त्यसो होइन , सर्भिस लेनमा स्थानीय रुटका सवारीहरू चल्छन् । ६ मिटर चौडाइको हुने हँदा दुवैतर्फबाट सवारी आवतजावत गर्छन त्यसैले ठाउँठाउँमा (युटर्न) राख्दा दुर्घटनाको जोखिम हुन्छ । ’
खनालका अनुसार मुख्य लेन र सर्भिस लेनको बिचमा कङ्क्रिटबाट निर्माण गरिएको अवरोध ( न्यु जर्सी बेरिएर ) राखिने छ । करिब १४ किलोमिटर क्षेत्रका लागि निर्माण सम्पन्न भइसकेको र पिच सकिएको ठाउँमा क्रेन मार्फत (न्यु जर्सी बेरिएर ) राख्ने काम हुनेछ । मनिसका लागि आवतजावत गर्न ठाउँठाउँमा जेब्रा क्रस बन्ने भएकाले सर्भिस लेनमा भने ,भित्री सडकहरू जुन मुख्य– मुख्य र महत्त्वपूर्ण पहिचान राखेका छन्, त्यस्ता बाटो भएको स्थानमा मात्रै (युटर्न) राखिने खनालले बताउनुभयो ।
नारायणगढ –बुटवल सडकको नवलपुर खण्डमा अहिलेसम्म ७६ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत नवलपुर खण्डको नारायणगढदेखि दाउन्नेसम्म (६५ किलोमिटर) र दाउन्नेदेखि बुटवलसम्म पश्चिम खण्ड (४९ किलोमिटर) गरी दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ ।