• १८ मङ्सिर २०८२, बिहिबार

‘सुस्ता नमुना ताल’ को विकास : पर्यापर्यटन र विश्व सम्पदा सूचीकरणको लक्ष्य

blog

सुस्ता नमुना ताल । तस्बिर : पुरुषोत्तम सुबेदी

पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, मङ्सिर १८ गते । 
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले पुरानो जलासयलाई ‘सुस्ता नमुना ताल’ को रूपमा विकसित गरेपछि त्यस क्षेत्रमा पर्यटकीय आकर्षण बढेको छ । पटेर लगायतका झाडीले भरिएको यो जलासयलाई गाउँपालिकाको अग्रसरतामा सरसफाइ गरी तालको स्वरुप दिएपछि अवलोकनकर्ताको सङ्ख्या बढ्दै गएको हो ।

गाउँपालिकाले विगत तीन वर्षदेखि यस जलासयको व्यवस्थापन र सरसफाइमा निरन्तर लगानी गर्दै आएको छ । हालसम्म डेढ करोड रुपियाँ खर्च भइसकेको गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय ले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालका अनुसार गाउँपालिकाले स्थानीयवासीको माग अनुसार नै सो जलासयलाई सिमसार र सुस्ता नमुना तालको रूपमा चिनाउन काम सुरु गरेको छ । उहाँले एकीकृत रूपमा जलासयको पहिलो चरणमा सिमाङ्कन गर्ने र तत्पश्चात गुरुयोजना बनाई काम गर्दै जाने लक्ष्य रहेको बताउनुभयो । “गण्डक नदीले छाडेको यो जलासय प्राकृतिक रूपमा जलले भरिपूर्ण हुने हुँदा यो क्षेत्र आयआर्जनको स्रोत र पर्यापर्यटनको केन्द्र बन्न सक्छ। यसलाई व्यवस्थित गरी राष्ट्रिय सम्पदा हुँदै विश्व सम्पदामा समेत सूचीकृत गराउने दिशामा हामी अगाडि बढ्नेछौँ,” भुसालले भन्नुभयो ।

जैविक विविधता र सिमसारको सम्भावना
करिब डेढ सय विघा क्षेत्रफलमा फैलिएको यो जलासयलाई तालको रुपमा संरक्षण गर्न काम थालिएको छ । यो जलासय वर्षौंदेखि गण्डक नदीले आफ्नो मूलधार छाडेर गएको ‘छाडन’ भनेर चिनिन्छ, जहाँ गोही लगायतका जलचरहरू र साइबेरियन लगायतका विदेशी चराहरू पनि आउने गर्छन् ।

अध्यक्ष उपाध्यायका अनुसार तालमा थप एक करोड रुपियाँ लगानी भएमा स्टिमर मोटर डुङ्गा लगायतका जलविहार सेवा सञ्चालन गर्न सकिनेछ । गाउँपालिकाले यस जलासयलाई सिमसारको रूपमा विकास गरी रामसार महासन्धि अनुसार सूचीकृत गराएर अन्तिममा विश्व सम्पदा सूचीमा समेत पु¥याउने महत्त्वाकाङ्क्षी लक्ष्य लिएको छ।गाउँपालिकाले यसको पूर्ण व्यवस्थापनका लागि लुम्बिनी प्रदेश सरकारसँग १० करोड रुपियाँ माग गरेको छ ।

पर्यटकीय करिडोरको योजना
लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवार (सन्तु) का अनुसार यो वर्ष पनि  लुम्बिनी प्रदेश सरकार बाट ताल व्यवस्थापनका लागि ३० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ  ।

मन्त्री कलवारले सुस्ता ताललाई सुस्ता पुल, अनेमा घाट (ठाढीघाट), सतपति तथा मदारबाबा लगायतका स्थानहरूसँग जोडेर पर्यटकीय करिडोर को रूपमा विकास गर्ने आफ्नो योजना रहेको दाबी गर्नुभयो । उहाँले पर्यटन विकासका लागि बजेट मात्र नभई स्थानीय संस्कृति र परम्परालाई जोडेर स्थानीयवासी र स्थानीय सरकारको अग्रसरता अपरिहार्य रहेको बताउनुभयो ।

ताल व्यवस्थापनपछि यसले स्थानीयलाई आयआर्जनको माध्यम पनि बन्ने र सुस्ता गाउँपालिकालाई पर्यापर्यटनको नयाँ पहिचान दिनेमा गाउँपालिका विश्वस्त छ । जलासयको पहिलो चरणमा सिमाङ्कन गरी गुरुयोजना बनाई काम अगाडि बढाइने गाउँपालिकाले जनाएको छ ।