धनगढी समाचारदाता
धनगढी, मङ्सिर १८ गते । कैलालीको धनगढी उपमहानगरपालिका–८, धनगढीगाउँका सरोज चौधरीले गाउँको भलमनसाका रूपमा काम गरेको ३० वर्ष भइसक्यो । तीन दशकदेखि निरन्तर गाउँको नेतृत्व गरेका उहाँले भलमनसाका रूपमा काम गरेबापत हालसम्म गाउँबाट केही पारिश्रमिक लिनुभएको छैन ।
“२०५२ सालदेखि म निरन्तर भलमनसा भएर निःशुल्क गाउँको सेवा गर्दै आएको छु,” चौधरीले भन्नुभयो, “गाउँको नेतृत्व गरेबापत बाजेको पालादेखि नै हामीले केही पनि लिएका छैनौँ ।” धनगढी उपमहानगरपालिका–११, बाँसखेडागाउँका रोहितकुमार चौधरीले पनि गाउँको नेतृत्व गरेबापत पारिश्रमिक लिने गर्नुभएको छैन । गाउँमा रहेका गलत अभ्यासलाई हटाउनका लागि आफूले निःशुल्क रूपमा भलमनसा भएर काम गरिरहेको उहाँको भनाइ छ ।
“गाउँमा केही गलत अभ्यास हुँदै आएको थियो । त्यसलाई हटाउनका लागि म अगाडि बढ्छु, बरु पारिश्रमिक लिदिनँ भनेर नेतृत्व लिएँ,” चौधरीले भन्नुभयो । सरोज र रोहित जस्तै थारू समुदायमा भलमनसा भएर गाउँको नेतृत्व गरिरहेका धेरै जसो भलमनसाले गाउँका हितका लागि अझै निःशुल्क रूपमा काम गरिरहेका छन् । भलमनसा सेवामुखी प्रथा रहेको भन्दै आर्थिक अवस्था सन्तोषजनक रहेका व्यक्तिले गाउँको नेतृत्व गर्दा शुल्क नलिएका हुन् । विगतमा प्रायः भलमनसाले बिनाकुनै पारिश्रमिक गाउँको नेतृत्व गरेको भलमनसा बताउँछन् । लोकतान्त्रिक पद्धतिमा आधारित सेवामुखी प्रथा रहेका कारण गाउँको नेतृत्व गर्दा पारिश्रमिक नलिएको धनगढी उपमहानगरपालिका–९, बङ्गराका भलमनसा रामनारायण चौधरीले बताउनुभयो ।
बङ्गरामा चौकीदार र देशबन्ध्या गुरुवाका लागि भने टिहाइ उठ्ने गरेको जनाइएको छ । प्रतिव्यक्ति वार्षिक छ केजीका दरले गाउँबाट धानबाली सङ्कलन गरेर दुवै जनालाई बाँडेर दिइने गरेको भलमनसा चौधरीले बताउनुभयो । उहाँले पारिश्रमिक लिनका लागि नभई गाउँको आर्थिक, सामाजिक विकासममा टेवा पु¥याउनका लागि भलमनसाका रूपमा चार वर्षदेखि काम गरिरहेको उल्लेख गर्नुभयो ।
भलमनसाले गाउँको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेका छन् । यसै गरी भोजभतेरलगायतका कार्यमा पनि भलमनसाको महत्वपूर्ण भूमिका रहने गरेको छ । भलमनसा भनेकै सबैको भलो चिताउने कार्य हुने प्रथा रहेको धनगढी नगर भलमनसा समितिका अध्यक्षसमेत रहनुभएका रोहित चौधरीको भनाइ छ । कतिपय भलमनसाले अझै निःशुल्क रूपमा गाउँको काम गर्दै आए पनि पछिल्लो समय धेरै जसो भलमनसाले चौकीदार र गुरुवाभन्दा कमै भए पनि टिहाइ (पारिश्रमिक) लिन थालेका छन् । खास गरेर घरमा कमाउने वा काम गर्ने मान्छे अरू नरहेका व्यक्तिले भलमनसाका रूपमा काम गर्दा पारिश्रमिक लिन थालेका हुन् । घरमा एक्लो रहेका व्यक्तिलाई परिवार पनि पाल्नुपर्ने जिम्मेवारी रहने गरेकाले भलमनसाले पनि टिहाइ लिन थालेको धनगढी उपमहानगरपालिका–६, मटियारीका भलमनसा बिन्तीराम चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “म भलमनसा र चौकीदारका रूपमा काम गरिरहेको छु । घरको एक्लै व्यक्ति पनि हुँ । मलाई ६५ परिवारले वार्षिक २०÷२० केजीका दरले एक घरबाट ४० केजी टिहाइ दिने गरेका छन् ।”
भलमनसा वर्षभरि नै गाउँ समाजको काममा खट्ने गरेका कारण आर्थिक आम्दानीको अन्य काम गर्न नसक्ने गरेको जनाइएको छ । भलमनसाको पारिवारिक जीवन निर्वाह सहज होस् भनेर कतिपय गाउँमा केही टिहाइसहित नगद पनि दिने गरिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिकामा धेरै जसो भलमनसाले वार्षिक रूपमा टिहाइ र नगद पारिश्रमिक पनि पाइरहेका छन् । बेलौरी नगरपालिका–२, चारघरुवाका भलमनसा लालवीर चौधरीले गाउँको नेतृत्व गरेबापत आफूले वार्षिक प्रतिघरधुरीबाट २० केजी धान र चार सय रुपियाँ पाउने गरेको बताउनुभयो ।