• १५ वैशाख २०८१, शनिबार

गाउँपालिका पुग्न दुई जिल्लाको बाटो

blog

तिलाचन पाण्डे

तम्घास, असार २४ गते । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्रमा पुग्न कतिपय स्थानीयलाई दुईवटा जिल्ला पार गर्नुपर्ने बाध्यता छ । अर्बेनीदेखि पुर्तिघाट सडकखण्डको कनौटा सडक अवरुद्ध हुँदा स्थानीयले यस्तो सास्ती भोग्नुपरेको हो ।यही असार १६ गतेदेखि माथिबाट खसेको ठूलो ढुङ्गोका कारण सडक अवरुद्ध भएको छ । गाउँपालिका केन्द्र पुर्तिघाट पुग्न स्याङ्जाको सेतीबेनी र पर्वतको बिहादी गाउँपालिका हुँदै जानुपर्ने हुन्छ । 

कालीगण्डकी नदीको पुल तरेर जानुपर्ने बाध्यता आएको स्थानीय तिलक रानाले बताउनुभयो । राष्ट्रिय गौरबको कालीगण्डकी करिडोर पनि लामो समयसम्म अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । यस्तै सदरमुकाम तम्घासदेखि कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट जाँदा आफूहरूले निकै सास्ती भोग्नुपरेको अधिवक्ता हीरा कुँवरले बताउनुभयो । बिहान सात बजे सदरमुकामबाट यात्रा गरे पनि साँझ करिब चार बजेमात्र गाउँपालिकाको केन्द्र पुग्नुपर्ने अवस्था छ । 

यहाँको सडक अवरुद्ध हुँदा हर्मिचौर, अर्बेनी र जयखानीका सेवाग्राही गाउँपालिकाबाट सेवा लिन वञ्चित रहेका छन् । सवारीसाधन पनि चल्न सकेका छैनन् । नेपाली सेनाले बम ब्लास्ट गरी खोलेको कालीगण्डकी करिडोरको हर्मिचौर पुर्तिघाट सडकखण्ड सामान्य पानी परे पनि पहिरो खस्ने गरेको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापा विगतका वर्षहरूदेखि नै यो समस्याले आफूहरूलाई सताएको भन्दै पहिरो पन्छाउनमा गाउँपालिकाले धेरै बजेट खर्चिनुपरेको बताउनुहुन्छ । 

Author

कालीगण्डकी करिडोरमा गएको पहिरो पन्छाउँदै गरेको डोजर ।