• १२ असार २०८१, बुधबार

श्रम समझदारीपत्र हस्ताक्षरमा ढिलाइ

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार २४ गते । नेपाली नर्सलाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच असारको पहिलो साताभित्रै श्रम समझदारीपत्रमा हस्ताक्षर गर्ने भनिए पनि अहिलेसम्म हुन सकेको छैन । दुई हजार नेपाली नर्स बेलायत लैजान असारको पहिलो साताभित्रै दुई देशबीच श्रम समझदारीपत्रमा हस्ताक्षर गर्ने सहमति भएको थियो । 

श्रम मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका सहसचिव राजीव पोखरेलले काठमाडौँस्थित बेलायती दूतावासका तर्फबाट श्रम समझदारीको मस्यौदा समितिमा काम गरेका प्राविधिक कर्मचारी बिदामा रहेकाले केही दिन ढिला भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “बेलायतमा नेपाली नर्स पठाउने श्रम समझदारी गर्ने विषयमा धेरै काम अगाडि बढिसकेको छ । छिट्टै दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर हुन्छ ।” 

मन्त्रालयका अनुसार दुई देशबीच श्रम समझदारी सम्पन्न भएपछि रोजगारीमा जानका लागि गरिने सबै प्रक्रिया पूरा गरेर पहिलो चरणमा परीक्षणका रूपमा दुई हजार नेपाली नर्स बेलायतमा जानेछन् । मन्त्रालयले बेलायत जाने नर्सको छनोटको प्रक्रिया के कस्तो रहने भन्ने विषय दुई देशबीच समझदारी सम्पन्न भएपछि स्पष्ट हुने जनाएको छ ।