• १२ असार २०८१, बुधबार

दूध दिउन्जेल स्याहार, नदिए अत्याचार

blog

तस्बिर : गोकर्ण दयाल घाँटीमा विरोधका नारा लेखेर सडकमा छाडिएका पशुचौपाया । (बायाँ) जङ्गलमा बाँधेर राखिएको गाईको उद्धार गर्दै बैतडी पाटनका युवक ।

गोकर्ण दयाल

बैतडी, असार २४ गते । बैतडीको पाटनमा यही असार दोस्रो हप्ता भिरालो जङ्गलमा रुखको जरामा बाँधेर राखिएको गाईको स्थानीय युवाले उद्धार गरे । जिल्ला समन्वय समितिका सदस्य करन कडायतले भीरमा गाई बाँधेको देखेपछि उद्धारको पहल भएको थियो ।उद्धारकर्ता लवदेव जोशीले उक्त दृश्यको वर्णन गर्दै भन्नुभयो, “बूढो गाई हत्केलाजस्तो भीरमा उभिएको थियो । गाईको आँखामा आँसु र कचेरा भरिएका थिए । खुट्टा कापिरहेका थिए । त्यो गाईको उद्धार गर्दा हाम्रा पनि आँखा रसाए ।” भीरमा बूढो गाई लगेर राति कसैले बाँधेको हुनसक्ने जिल्ला समन्वय समिति बैतडीका सदस्य कडायतले बताउनुभयो । 

दुहुनो हुन्जेल स्याहार गर्ने तर बूढो भएपछि यसरी अत्याचार गर्दै भीरमा बाँधेर छाडेको घटना सेलाउन नपाउँदै पाटन नगरपालिका क्षेत्रका सडकमा बुधबार फेरि अर्को घटना भएको छ । गाई र बाच्छीको घाँटीमा कार्टोनमा ब्यानर बनाएर “हाम्रो गोबर व्यवस्थापन गर ! पाटन नगरपालिका मुर्दावाद !” लेखेर छाडिएको छ । यसरी स्वार्थपूर्तिका लागि पशुलाई पशुवत् पनि व्यवहार नगर्ने प्रवृत्ति बैतडीमा बढ्दो छ । केही बजारीले नगरपालिकाको विरोध गर्दै कागजमा विरोधका नारा लेखेर गाईको घाँटीमा झुन्ड्याएको पाइएको पाटन नगरपालिकाका नगरप्रमुख गौरीसिंह रावलले बताउनुभयो । नारा लेखेर गाईको घाँटीमा झुन्ड्याउनेको खोजी भइरहेको उहाँले बताउनुभयो । 

पशुको पनि अधिकार भएकाले यस्ता दृश्यले मन पोलेको स्थानीय युवा लवदेव जोशी बताउनुहुन्छ । “गाई हाम्रो राष्ट्रिय जनावर मात्रै होइन, दूध दिने बेलासम्म आमाजस्तै राम्रोसँग हेरचाह गर्छौं तर बूढो भएपछि गाईमाथि यस्तो अत्याचार भइरहेको छ,” जोशीले भन्नुभयो ।  बूढो भएका गाई भीरमा मात्र होइन बजारमा पनि छाडिन्छन् । तिनका साथै बाच्छाबाच्छी पनि हुन्छन् । यसका अतिरिक्त केही पुरोहितले दानमा पाएका बाच्छी गाउँबाट ल्याएर बजारमा छोड्ने गरेको स्थानीय केशव खत्रीले बताउनुभयो । “कन्यादान, वार्षिक पुण्यतिथि र श्राद्ध गर्दा बाच्छी दान दिने चलन छ,” खत्रीले भन्नुभयो, “पुरोहितले त्यस्ता बाच्छी पनि बजारमा ल्याएर छोड्ने गरेका छन् ।”

यो समस्या अहिलेको मात्र होइन । डेढ वर्षअघि पाटन नगरपालिकाले नै नगरमा छाडा छोडिएका ८० वटा बूढा गाई बैतडीबाट बझाङको सीमा कटाउन लगाएको थियो । नगरपालिकाले प्रतिगाई दुई हजार रुपियाँका दरले पैसा नै दिएर मजदुर खटाएर सीमा कटाउन लगाएको थियो तर मजदुरले ती गाई पुरचौडी नगरपालिकाको जङ्गलमा लगेर छोड्दा ११ गाई मरेको अवस्थामा भेटिएका थिए । स्थानीयले त ती गाई भीरबाट खसालिएका थिए । पुरचौडी नगरपालिका–६, भूमिराजको कुवाकोट–सुुइलेक सडक खण्डको सिगास सामुदायिक वनमा रहेको पानीको मुहानमा मरेका गाई फालिएको अवस्थामा भेटिएपछि स्थानीयले विरोध गरेका थिए । प्रहरीले एक जना मजदुरलाई पक्राउ गरेर मुद्दा पनि चलायो । जनप्रतिनिधिलाई प्रहरीले छलफलमा बोलाएर सचेत गराएको थियो । 

उक्त घटनापछि पाटन नगरपालिकाले नगरभित्र छाडा पशुचौपाया छाड्नेलाई जरिवाना गर्ने नियम बनायो तर बूढो गाई लगेर जङ्गलमा बाँध्नेदेखि गाईको घाँटीमा विरोधका नारा लेखेर पशुमाथि झन् अत्याचार बढेको छ । बैतडीको पाटनमै जिल्लास्तरीय भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय रहे पनि छाडा पशुचौपाया हेर्ने अधिकार नभएको कार्यालयका पशु विज्ञ गुमानीदत्त पन्त बताउनुहुन्छ ।

कार्यालयको तथ्याङ्कअनुसार बैतडीमा एक लाख १२ हजार गाई छन् । जिल्लामा अन्य ठाउँमा छाडा पशुचौपायाको समस्या नभए पनि पाटनमा बूढो गाईलाई सडकमा लगेर छोड्ने र जङ्गलमा लगेर बाँध्ने हर्कत देखिएको पन्तले बताउनुभयो ।  कानुनी हिसाबले गौहत्या र गाईलाई यातना दिएको पाइए दण्ड सजायको व्यवस्था भए पनि छाडा पशुचौपायाको विषयमा कानुन फितलो भएको पन्तको भनाइ छ । 

छाडा पशुचौपाया व्यवस्थापन गर्न पाटन नगरपालिकाले कान्जी हाउस सञ्चालन गर्ने विषयमा छलफल गरिरहेको नगरप्रमुख गौरीसिंह रावलले बताउनुभयो । “छाडा पशु टाउको दुखाइको विषय बनेको छ,” प्रमुख रावलले भन्नुभयो, “दण्ड जरिवाना गरेर मात्रै यो समस्या समाधान हुन नसकेकाले अब कान्जी हाउस सञ्चालन गरेर गौमूत्र सङ्कलन गरेर बिक्री गर्ने विषयमा छलफल भइरहेको छ ।”