• १३ साउन २०८१, आइतबार

सीमा क्षेत्रमा हुने अवान्छनीय गतिविधिको निगरानी होस् : प्रधान सेनापति शर्मा

blog

काठमाडौं, असार २३ गते । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले सीमा सुरक्षाको विषयलाई राष्ट्रिय सुरक्षा र क्षेत्रीय अखण्डतासँग जोडेर निरन्तर अध्ययन तथा अनुसन्धान गर्दै आइरहेको बताउनुभयो ।

जङ्गीअड्डास्थित सभामण्डप कक्षमा आयोजित ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरु’ विषयक दुई दिने गोष्ठीलाई सम्बोधन गर्नुहुँदै प्रधान सेनापति शर्माले सो कुरा बताउनुभएको हो ।

प्रधान सेनापति शर्माले नेपाली सेनाले सदैव नेपाल सरकारको आदेश–निर्देशनमा कठिन र प्रतिकुल अवस्थामा पनि नितान्त राष्ट्र सेवाप्रति समर्पण हुँदै आएको छ भन्नुभयो । साथै, उहाँले समस्या जस्तोसुकै विकराल र जटिल भए पनि राष्ट्रको सुरक्षा अवस्था सुदृढ तुल्याउन सीमा क्षेत्रमा हुने अवान्छनीय सेवा गतिविधिको निगरानी तथा नियन्त्रण गर्न सम्बद्ध सबै पक्ष चनाखो हुनुपर्ने बताउनुभयो ।

नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनलाई सुदृढीकरण गर्नका निमित्त समन्वयका क्षेत्रहरु पहिचान गरी कार्यान्वयनमा सहजता ल्याउने उद्देश्यका उक्त गोष्ठीको  आयोजना नेपाली सेनाले गरेको हो ।

बुधबारबाट सुरु भएको उक्त गोष्ठीलाई उद्घाटन गनुहुँदै रक्षा सचिव किरणराज शर्माले सीमा सुरक्षा तथा व्यवस्थापनको पक्षबाट समग्र राष्ट्रिय सुरक्षा सुदृढीकरण कार्यका लागि कार्यका लागि नेपाल सरकारका सम्वद्ध विभिन्न निकायबीच पारस्परिक समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।


गोष्ठीमा नेपालको अन्तर्राष्ट्रिय सिमानाको वर्तमान अवस्था सीमा सुरक्षा र व्यवस्थापनमा देखिएका चुनौती तथा सुधारका क्षेत्रहरु, नेपालको अन्तर्राष्ट्रिय सिमानामा हुने अवैध गतिविधि र सोको निराकरणका उपायहरु, सीमा सुरक्षामा नेपाली सेनाको जिम्मेवारी तथा एकीकृत सीमा सुरक्षा अवधारणाको आवश्यकताका विषयमा छलफल भएको थियो ।