• २ असार २०८१, आइतबार

जनताको सेवक भएर काम गर्नुहोस् : उपसभापति खड्का

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ असार २३ गते । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्याङ्जाका जनप्रतिनिधिहरुलाई जनमुखी भएर काम गर्न आग्रह गर्नुभएको छ । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका स्याङ्जाका जनप्रतिनिधिहरुका लागि सञ्चालन गरिएको अभिमुखीकरणलाई सम्बोधन गर्नुहुँदै उपसभापति खड्काले जनप्रतिनिधिहरुले जनमुखी काम गरे मात्रै काँग्रेस पार्टी बलियो हुने दाबी गर्नुभयो । 

जनप्रतिनिधिहरुका लागि प्रशिक्षणका समेत दिँदै उपसभापति खड्काले स्थानीय तहबाट नै काम गर्न थाल्ने हो भने पार्टी त्यसै बलियो हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘काँग्रेसले मतदातासमक्ष गरेको प्रतिबद्धतालाई पूरा गर्नु जनप्रतिनिधिको दायित्व हो ।’’ 

काँग्रेसले नै मात्रै नागरिकको अधिकारको रक्षा गर्न सक्छ भन्ने तथ्य जनजनमा पुर्याउनु पर्ने भन्दै खड्काले जनताको सेवक भएर काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिनुभयो । 

रुपान्तरण आफैबाट हुनुपर्ने भन्दै खड्काले काँग्रेसको नीति र सिद्धान्तलाई पालना गर्न काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । 


सिद्धार्थ राजमार्ग स्याङ्जाको भविष्य ः उपसभापति गुरुङ

सिद्धार्थ राजमार्गको स्तरोन्नति नभए स्याङ्जाको भविष्य नरहने काँग्रेस उपसभापति धनराज गुरुङले बताउनु भएको छ । नेपालकै पुरानो सडक भए पनि राज्यको ध्यान नजाँदा सिद्धार्थ राजमार्ग अस्तव्यस्त भएको छ गुरुङले भन्नुभयो ।  

नेता गुरुङले सिद्धार्थ राजमार्गलाई चारलेनको बनाउनैपर्ने भन्दै यसतर्फ लाग्न जिल्लाका सबै नेताहरुलाई आग्रह गर्नुभयो । 

जनप्रतिनिधिहरुलाई सुझाव दिँदै उपसभापति गुरुङले बेरुजु रकम घटाउनतर्फ ध्यान दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘बेरुजु रकम दिनप्रतिदिन बढिरहेको छ जसका कारण नेपालको आर्थिक समस्या बल्झदो छ, यसमा सबै सचेत रहनु होला ।’’

नेता गुरुङले काँग्रेस पार्टीमा रुपान्तरण भए मात्रै जीवन्त रहने बताउनुभयो । काँग्रेसमा रुपान्तरण अति आवश्यक छ, काँग्रेसबाट जितेका सबैले यसतर्फ ध्यान दिन जरुरी छ नेता गुरुङले भन्नुभयो । 

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य सरस्वती तिवारी, काँग्रेसका अग्रज नेता भोजराज अर्याल, खगेन्द्रराज रेग्मी, काँग्रेस जिल्ला सभापति राजु थापा, गण्डकी प्रदेस सभा सदस्य एवम् मन्त्री मेखलाल श्रेष्ठ, प्रदेशसभा सदस्य भागवत प्रकाश मल्ल,गण्डकी प्रदेश सदस्य तथा वालिङ नगरउपप्रमुख कविता तिवारी, गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराई, भीरकोट नगरप्रमुख गोबिन्द कर्माचार्य, काँग्रेस जिल्ला उपसभापति केदार काफ्लेलगायतले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले खेल्नुपर्ने भूमिकाका विषयमा आ–आफ्नो धारणा राख्नुभयो ।