• १३ साउन २०८१, आइतबार

मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, असार २३ गते । सर्लाहीको हरिपूर्वामा भएको मोटरसाइकल दुर्घटनामा एक जना शिक्षकको मृत्यु भएको छ । हरिपूर्वा–सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत पथरा पुल नजिकै भएको दुर्घटनामा सोनफी जनता प्राथमिक विद्यालय हरिपूर्वाका शिक्षक ५७ वर्षीय किसनुदेव रजकको मृत्यु भएको हो । 

रजकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । पर्सा गाउँपालिका –२, निवासी रजकले चलाएको ज ५ प १६१३ नम्वरको मोटरसाइकल बुधबार राती हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाको सीमा नजिक सडकमा दुर्घटनामा परेको थियो । 

बिग्रिएर रोकिराखेको ट्याक्टरको टेलरमा मोटरसाइकल ठोक्किएको स्थानीयवासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय मलङ्गवाका अनुसार मोटरसाइकल आफै अनियन्त्रित भएर पल्टिएको वा ट्याक्टरको टेलरमा गएर ठोक्किएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पर्सा गाउँपालिका –२, का निवासी ३४ वर्षीय चन्द्रविन बैठा गम्भीर घाइते हुनुभएको छ । घाइते बैठाको जनकपुरमा उपचार भइरहेको छ । 

स्थानीयवासीले दुई साताभन्दा अघिदेखि सडकमा बिग्रिएर बेवारिसे अवस्थामा छाडिएको ट्रयाक्टरको टेलर सडकबाट नहटाउँदा दुर्घटना भएको गुनासो गरेका छन् ।