• १२ असार २०८१, बुधबार

कुशल उत्पादन अभ्यासतर्फ औषधि लिमिटेड

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँँ,असार २३ गते । नेपाल औषधि लिमिटेडले हेमोडायलासिस उपकरण, पानी प्रशोधन तथा वितरण प्रणाली र एयर ह्यान्डिलिङ युनिट सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सो युनिटको उद्घाटन गर्नुभयो ।  

सो अवसरमा मन्त्री बडूले नेपाल औषधि लिमिटेडले थपेका नयाँ उपकरणले कुशल उत्पादन अभ्यास हुने र आत्मनिर्भरता तर्फको यात्रामा कोशेढुङ्गा साबित हुने बताउनुभयो ।  आगामी आर्थिक वर्षको बजेटले पनि उत्पादन वृद्धिका लागि विशेष लक्ष्य, नीति तथा कार्यक्रम तय गरेकाले चिकित्सा क्षेत्रमा थप औषधि र औषधि उपचारमा प्रयोग हुने वस्तु उत्पादनलाई समेत प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

सो अवसरमा नेपाल औषधि लिमिटेडका प्रबन्ध निर्देशक मोहम्मद सफिउल्लाहले हेमोडायलासिस उपकरणबाट हेमोडायलासिसको उपचार लिनुपर्ने बिरामीका लागि चाहिने औषधि नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय उत्पादन हुने जानकारी दिनुभयो । यस उपकरणबाट अब दैनिक आठ सयदेखि एक हजार छ सय युनिटसम्म उत्पादन गर्न सकिने बताउनुभयो  । 

पानी प्रशोधन उपकरणको स्थापना र सञ्चालनपछि औषधिजन्य प्रयोजनका लागि आवश्यक शुद्ध प्रशोधित पानी उपलब्ध हुनेछ । सूक्ष्म जैविक शाखाअन्तर्गत एयर ह्यान्डिलिङ युनिटको स्थापनापछि औषधि उद्योगमा प्रयोग हुने पानी, विभिन्न कच्चापदार्थ र तयारी औषधिको सूक्ष्म जैविक परीक्षण हुनुका साथै औषधि उत्पादन अभ्यास प्रमाणपत्रका लागि थप सहयोग पुग्ने अपेक्षा गरिएको छ १२० प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेड हाल चारवटा उत्पादनमा मात्र सीमित रहेको छ ।  

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कोरोना महामारीको समयमा गाउँगाउँमा औषधि तथा स्वास्थ्य उपकरण सहयोग गर्ने क्रममा सिटामोलको अभाव भएको गुनासो आएको र त्यसैको खोजी गर्दै जाँदा नेपाल औषधि लिमिटेडमा उपकरण मर्मतलगायत कार्यमा सहकार्य गरिरहेको बताउनुभयो । नेपाल औषधि उत्पादक सङ्घका महासचिव विप्लव अधिकारीले  औषधिमा आत्मनिर्भर बन्न सरकारले उद्योगको संरक्षण गर्नुपर्ने बताउनुभयो ।