• १२ असार २०८१, बुधबार

निकुञ्जका जनावर छेक्न पर्खाल

blog

शालिग्राम नेपाल 

चितवन, असार २३ गते । चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावर मावनबस्तीमा आउन नदिन यस आर्थिक वर्षमा एक हजार १४४ मिटर पर्खाल लगाइएको छ । सङ्घीय सरकारको बजेटमा सिमेन्टको स्थायी प्रकृतिको पर्खाल लगाइएको हो । निकुञ्जबाट हात्ती, गैँडा बाघ, बँदेललगायतका जनावर मानवबस्तीमा आएर क्षति गर्ने भएकाले यस अगाडि काँडेतार लगाएर रोक्ने गरिएको थियो । काँडेतार प्रभावकारी नभएपछि विद्युतीय झड्का दिने तार लगाउने गरिएको थियो । त्यो पनि प्रभावकारी नभएपछि मेस जाली र अब आएर  सिमेन्टेड पर्खाल नै लगाउन थालिएको छ । 

जनवारको आनीबानीका कारण उनीहरूलाई रोक्न छेकबारको संरचना बदलिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । “पछिल्लो प्रविधि आरसीसी पर्खाल लगाउँदा धेरै प्रभावकारी भएको पाइएको छ,” उहाँले भन्नुभयो, “पर्खाल लगाएपछि हात्ती, बाघ, गैँडालगायतका ठूला जनावरलाई छेक्न सफल भएको छ ।” मानवबस्तीमा प्रवेश गरेर क्षति पु-याउनेको सङ्ख्या घटेको छ । निकुञ्जभित्र मानिस प्रवेश गर्दा हुने घटनाबाहेक पर्खाल लगाएको क्षेत्रबाट जनवार मानवबस्तीमा प्रवेश नगरेको उहाँले जानकारी दिनुभयो । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म बरन्डाभार क्षेत्रमा ४० लाख रुपियाँको लागतमा ५०७ मिटर लामो पर्खाल निर्माण भएको छ । त्यस्तै माडीको पाँच पाण्डव क्षेत्रमा ५० लाख रुपियाँको लागतमा ६३७ मिटर पर्खाल निर्माण भएको छ । यी सबै सङ्घ सरकारको बजेटमा काम भएको कार्यालयले जानकारी दिएको छ । पर्खालबाहेक मेस जाली यसैै आर्थिक वर्षमा छ किलोमिटर निर्माण गरिएको छ । त्यो रकम पनि सङ्घ सरकारको सहयोगमा आएको हो । “निकुञ्ज क्षेत्र धेरै भएकाले एकै वर्षमा आरसीसी पर्खाल निर्माण गर्न सम्भव छैन,” हरेक वर्ष आउने बजेटबाट निर्माण हुँदै जाने सूचना अधिकारी तिवारीले बताउनुभयो । 

जनवारलाई रोक्न अन्य प्रविधिभन्दा आरसीसी पर्खाल सबैभन्दा उपयुक्त भएको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङले बताउनुभयो । “हामी निकुञ्जनजिक बस्ने बासिन्दा र संरक्षण क्षेत्रमा लागेकाहरूले सबैभन्दा उपयुक्त प्रविधि पर्खाल भएको पाएका छौँ । मेस जालीलाई हात्तीले भत्काएर बाहिर आउँछ, बँदेलले तलबाट खोतलेर आउन सक्छ तर आरसीसी पर्खाल लगाउँदा सबै जनावरलाई छेक्न सक्ने रहेछ,” अध्यक्ष तामाङले भन्नुभयो, “यो प्रविधि वरदान साबित भएको छ ।” 

बाघमारा मध्यवर्ती सामुदायिक वनको क्षेत्र तीन किलोमिटर छ । यसमा प्रदेश सरकारको सहयोगमा चालू आर्थिक वर्षमा एक किलोमिटर आरसीसी पर्खाल निर्माणको काम हुँदै गरेको उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९÷८० मा पनि प्रदेश सरकारले अर्को एक किलोमिटर पर्खाल बनाउने गरी बजेट परेको छ । मध्यवर्ती सामुदायिक वनको आफ्नै लगानीमा पनि पाँच सय मिटर पर्खाल निर्माण भएको जानकारी उहाँले दिनुभयो । 

पछिल्लो प्रविधिमा आरसीसी पर्खाल सबैभन्दा उपयुक्त सुरक्षाको उपाय भएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले बताउनुभयो । पर्खाल निर्माण भएको स्थानबाट ठूला जनावर आउन नसक्ने भएकाले यो प्रविधिले मानव बस्तीमा जनावरबाट हुने क्षति न्यूनीकरण गरेको उहाँले बताउनुभयो । पर्खाल निर्माण गर्दा जमिनमा जग राखेर फलामको रडजाली बुनेर सात मिटर उचाइको निर्माण गरिँदै आएको छ । मेस जालीभन्दा आरसीसी पर्खाल महँगो भएकाले एकै पटक धेरै लामो निर्माण हुनसकेको छैन ।