लुम्बिनी, मङ्सिर ८ गते । लुम्बिनी प्रदेशसभाका सदस्यले जेनजी आन्दोलनको विषय उठान गर्नु भएको छ । प्रदेशसभामा आजदेखि सुरु भएको हिउँदे अधिवेशनको बैठकमा उहाँहरुले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र यसको उद्देश्यबारे प्रश्न उठाउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जेनजी आन्दोलनको उद्देश्य के हो भन्ने विषयमा स्पष्ट नभएको टिप्पणी गर्नुभयो । उहाँले आन्दोलनबाट नेपाली जनताले के पाए भनि प्रश्न गर्नुभयो । नेपाली कांग्रेसकी प्रमुख सचेतक जमुना ढकालले संयमता र जिम्मेवार कार्यशैलीको अभावका कारण जेनजी आन्दोलनमा तोडफोड र आगजनी भएको बताउनुभयो ।
उहाँले अझै पनि सडकमा त्रासको वातावरण रहेको भन्दै शान्तिपूर्ण वातावरण बनाउन सबैलाई आग्रह गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेत इन्द्रजित थारुले परिस्थितिको गम्भीर आत्मसमीक्षा आवश्यक भएको बताउनुभयो । उहाँले उत्पन्न अवस्थाको कारण पहिचान गरेर सबै दलले राष्ट्रियताका सवालमा जिम्मेवारी लिनुपर्ने धारणा राख्नुभयो ।
प्रदेशसभा सदस्य अम्बिका काफ्ले, भण्डारीलाल अहिर, हेमा बेल्वासे, चन्द्रकेश गुप्ता, जानकीप्रसाद यादवलगायत सांसदहरूले पनि धारणा राख्नुभयो । बैठकमा सभामुख तुलाराम घर्तिमगरले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीन वटा पत्र पढेर सुनाउनुभयो । उहाँले सातौं अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद पुनः गठनबारे पत्र र छैटौं अधिवेशनबाट प्रमाणीकरण भइसकेका विधेयकसम्बन्धी जानकारी पढेर सुनाउनुभयो ।
बैठकले प्रदेशसभा सदस्य सरिता पुनको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । चालु अधिवेशनका लागि प्रदेशसभा सचिवालयमा दर्ता भइसकेका दुई विधेयकमा जिल्लासभा तथा जिल्ला समन्वय समिति सञ्चालन ऐन, २०७५ संशोधन विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन २०७६ संशोधन विधेयक छन् ।
यसबाहेक प्रदेश मन्त्रिपरिषदले थप तीन विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको छ । तीमध्ये लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धी विधेयक र दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक रहेका छन् । रासस