• ८ मंसिर २०८२, सोमबार

आहा रारा गोल्ड कप माघ २७ गतेबाट

blog

सोमबार आयोजित पत्रकार सम्मेलन बोल्नुहुँदै सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा । तस्बिरः गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, मङ्सिर ८ गते । पर्यटकीय सहर पोखरामा अढाइ दशकदेखि निरन्तर हुँदै आएको आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि फागुन ९ गतेसम्म हुने भएको छ । आयोजक सहारा क्लब पोखराले सोमबार पत्रकार सम्मेलन गरी २५ औं संस्करणको प्रतियोगिताको मिति सार्वजनिक गरेको हो ।

हिमश्री फुड्सको मुख्य प्रायोजनामा हुने सो प्रतियोगिताको संरक्षकमा पोखरा महानगरपालिका छ । प्रतियोगितामा ‘ए’ डिभिजन, विभागीय क्लबहरु, आयोजक र अन्तर्राष्ट्रिय क्लब गरी १० टिमको सहभागिता हुँदै आएको छ । 

सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले प्रतियोगिताको तयारी सुरू भएको जानकारी दिंदै यसपालिको प्रतियोगिता सफल बनाउन पनि आग्रह गर्नुभएको छ । यसपालि पोखरा महानगरसँग भगिनी सम्वन्ध भएका देशका सहरका टिमलाई पोखरा निम्त्याउने तयारी भएको छ । अध्यक्ष थापाले भन्नुभयो, “यसमा सदा झैं सबैको सहयोग र सहकार्यका लागि आग्रहसँगै यो वर्ष पोखराका भगिनी सहरहरुसँग समेत सहभागिताका लागि महानगरमार्फत् छलफल अघि बढाएका छौं ।”

गत संस्करणमा उज्वेकिस्तानको ब्ल्याक बुल्सले नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो । कार्यक्रममा गत संस्करणको प्रतियोगिताबाट २४ लाख २२ हजार ७६ रुपियाँ बचत भएको समेत सार्वजनिक गरिएको छ । 

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, हिमश्री फुड्सका निर्देशक प्रकाश केसी, क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरूङ, महासचिव गंगाराज पौडेल लगायतले धारणा राख्नुभएको थियो ।