• ८ मंसिर २०८२, सोमबार

फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बढीको उपचार

blog

नेपालगन्ज फुलटेक्रामा रहेको फत्तेबाल आँखा अस्पताल । तस्बिर : सिराज खान

सिराज खान 
नेपालगन्ज, मङ्सिर ८ गते ।
नेपालगन्जस्थित फत्तेवाल आँखा अस्पतालले स्थापना भएदेखि गत आर्थिक वर्षसम्म २९ लाख २९ हजार ५६३ जनाको आँखाको विभिन्न उपचार गरेको जनाएको छ ।

विक्रम संवत् २०४३ सालमा स्थापना भएको सो अस्पतालले ओपीडि सेवा मार्फत २९ लाख २९ हजारभन्दा बढीको आँखाको उपचार गरेकोमा ती मध्ये दुई लाख ९१ हजार ५५३ जनाको आँखाको शल्यक्रिया समेत गरेको अस्पतालका स्वास्थ्य प्रमुख निर्देशक डा.देवराज भारतीले बताउनुभयो ।

उहाँका अनुसार फत्तेवाल आँखा अस्पताल नेपालगन्जप्रति बिरामीहरूको भरोसा पछिल्ला वर्षमा उल्लेख्य रूपमा बढ्दै गएको छ । चालु आर्थिक वर्षको असोजसम्मको तथ्याङ्क अनुसार २६ हजार २४४ जनाले अस्पतालको ओपिडी सेवा लिएका छन् । जस अनुसार साउनमा १० हजार ३३०, भदौमा ८ हजार ६६५ र असोजमा ७ हजार २४९ जना आँखाका बिरामीले सेवा लिएका हुन् ।

गत आर्थिक वर्ष २०८१/८२ मा अस्पतालले एक लाख ३७ हजार ७३१ जना बिरामीलाई ओपिडी सेवा प्रदान गरेको थियो भने अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सो सङ्ख्या एक लाख ३३ हजार ३३३ रहेको थियो ।

चालु आर्थिक वर्षमा असोजसम्म एक हजार ३२६ जनाले शल्यक्रिया सेवा लिएका छन् । अस्पतालका अनुसार साउनमा ४००, भदौमा ६०० र असोजमा ३२६ जना बिरामीले सर्जरी सेवा लिएको अस्पतालको तथ्याङ्कमा उल्लेख गरिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा नौ हजार ७८८ र अघिल्लो आव २०८०/८१ मा आठ हजार ६१२ जनाले शल्यक्रिया सेवा लिएका थिए ।

अस्पतालले बेला बेलामा बिभिन्न बाँके जिल्लामा मात्र नभई नजिकका बिवभिन्न जिल्लाहरुमा निःशुल्क आँखा शिविर, आँखा स्वास्थ्य शिक्षा कार्यक्रम र अन्य सामुदायिक सेवाहरू पनि निरन्तर सञ्चालन गर्दै आएको छ ।

गुणस्तरीय सेवा र भरोसाले फत्तेवाल आँखा अस्पताल प्रदेशदेखि भारतसम्मका बिरामीको प्रमुख रोजाइ बनेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार सेवा लिने बिरामीमध्ये करिब ५० प्रतिशत भारतबाट आएका बिरामीहरु रहेका छन् । भारतको बहराइच, गोण्डा, गोरखपुर, लखनऊ, अयोध्या, सितापुर र लखिमपुर लगायतका शहरका बिरामी नियमित रूपमा उपचारका लागि फत्तेवाल आँखा अस्पताल आउने गरेका छन् ।

यस्तै नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट आँखाका बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।