ठाकुरप्रसाद आचार्य
म्याग्दी, मङ्सिर ७ गते । तीन जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीय स्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा पर्यटकीय ताल निर्माण गरिने भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, मोदी गाउँपालिका र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका सम्म फैलिएको जलजला क्षेत्रमा पर्यटकलाई आकर्षित ताल निर्माण गर्न अध्ययन सुरु गरिएको हो ।
तीन हजार दुई सय मिटर उचाइमा रहेको खुला घाँसे मैदान र पहाडी भू-आकृतिले भरिपूर्ण उक्त क्षेत्रलाई दीर्घकालीन रुपमा धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्न अध्ययन सुरु गरिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।
चालु आर्थिक वर्षमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराबाट सम्भाव्यताको अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न ४० लाख रुपियाँ बजेट विनियोजन भएको छ ।
सम्भाव्यताको अध्ययन गर्नका लागि कार्यालयका प्रमुख विदुरमान श्रेष्ठको नेतृत्वमा जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य सहितका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधि र कर्मचारीहरु सहितको टोलीले ताल निर्माणको अध्ययन गरेको छ ।
टोलीले प्रस्तावित ताल निर्माण स्थलको भौगोलिक स्वरूप, सम्भाव्यता, वातावरणीय असर, जलस्रोत उपलब्धता तथा दीर्घकालीन प्रभावको प्रत्यक्ष अवलोकन गरेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो ।
उहाँका अनुसार ताल निर्माणका लागि उपयुक्त देखिएको र जलस्रोत व्यवस्थापन तथा सुरक्षाका उपायहरूका बारेमा पनि विस्तृत छलफल भएको छ ।
ताल निर्माण सम्पन्न भएमा कालाञ्जर–हम्पाल र जलजला क्षेत्र धार्मिक स्थलका रूपमा मात्र नभई आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्न सक्ने आयोजना कार्यालय पोखराका प्रमुख श्रेष्ठले बताउनुभयो ।
हम्पाल र जलजलाबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमाल तथा म्याग्दी, पर्वत र बागलुङका रमणीय भूगोलको दृश्य अवलोकन गर्न सकिन्छ ।