चाँदनी आचार्य
घोडाघोडी (कैलाली), मङ्सिर ७ गते । कैलालीको विश्व सिमसार तथा जैविक विविधताले महत्वपूर्ण क्षेत्र घोडाघोडीमा आइतबार घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सवको उद्घाटन भएको छ ।
महोत्सवको घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले उद्घाटन गर्नुभएको हो । घोडाघोडी नगर भल्मन्सा समितिका अध्यक्ष बुधराम चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा छिमेकी पालिकाका प्रमुख तथा जनप्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा ७६ गाउँका भलमन्सा तथा चिराकी (चौकीदार) थारु कल्याणकारिणी सभाका केन्द्रदेखि जिल्लातहका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । उद्घाटन कार्यक्रममा थारू संस्कृति झल्कने विभिन्न झाँकीहरु प्रदर्शन गरिएको थियो । थारुहरुको मौलिक खाना ढिक्री, माछाको चटनी, गगँटा लगायत परिकार अतिथिलाई स्वागत गरिएको थियो ।
नगरप्रमुखले लवाङ्गी पूजाको विधिवधरुपमा दियोमा बत्ती बाली थारुहरुको देउताको प्रतिक घोरीघोराको प्रतिमामा छाँक (रक्सी) खाएर उद्घाटन गर्नुभएको थियो । नगरप्रमुख चौधरीले पालिकामा बसोबास गर्ने हरेक समुदाय जातजातीको परम्परा, संस्कृति जोगाउन र नयाँपुस्तामा हस्तान्तरण गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।
उहाँले मौलिक कला संस्कृति जगेर्नाका लागि सरकारको तर्फबाट सक्दो सहयोग हुँदै आएको बताउनुभयो । हरेक बर्ष सीता बिवाह पञ्चमी तीथिमा गरिने थारु समुदायको परम्परागत लवाङ्गी पूजा यस बर्ष मङ्सीर ९ गते धुमधामका साथ गरिने भएको छ । ९ गते पूजा हुने भनी ७ र ८ गते थारु समुदायको कला संस्कृति झल्काउने विभिन्न प्रस्तुति रहने जनाइएको छ ।
घोरीघोरा नगर भलमन्सा कार्य समिति, सन्त समागम समाज र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा पूजा तथा सांस्कृतिक महोत्सव सुरु भएको हो ।
यसअघि कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्न १७ सदस्यीय मूल आयोजक समिति बनाइएको छ । समितिका संयोजक एवम् नगर भलमन्सा कार्य समितिका अध्यक्ष बुधराम चौधरीले थारु समुदायले पराम्परागत रुपमा मान्दैआएको लवाङ्गी पूजालाई व्यापक र प्रचारप्रसार गर्दै थारु समुदायको मौलिक कला संस्कृतिको जगेर्नाका लागि महोत्वसको आयोजना गरिएको बताउनुभयो ।
उहाँले थारु समुदायको परम्परागत मौलिक संस्कृतिसँग लवाङ्गी पूजा जोडिएकाले यसको संरक्षण र प्रचारप्रसारका लागि विगतदेखि महोत्सवको रुपमा मनाउने गरिएको उल्लेख गर्नुभयो ।

थारु समुदायले पराम्परागत रुपमा नयाँ बाली घरमा भित्र्याइपछि पहिले देउतालाई चढाएर मात्र उपभोग गर्ने चलन छ । लवाङ्गीको अर्थ नयाँ रहेको र विशेषगरी नयाँ अन्न देउतालाई चढाएर मात्र खाने चलन भएकाले लवाङ्गी पूजा गर्ने चलन रहेको थारु कल्याणकारिणी सभाका सल्लाहकार तथा थारु अगुवा रामबहादुर चौधरीले जानकारी दिनुभयो ।
पश्चिम नेपालका थारु समुदायको ठुलो देउथलको रुपमा घोडाघोडी मन्दिरलाई लिने गरिन्छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको विश्व रामसार साइडमा सूचिकृत घोडाघोडी तालसँगै रहेको घोडाघोडी मन्दिरमा थारु र पहाडी समुदायले लवाङ्गी पूजा कार्यक्रममा सहभागी हुनेगरेको स्थानीय बताउँछन् । भाकल गरेकाहरुले लवाङ्गी पूजाको दिन घोडाघोडी मन्दिरमा सुँगुर, कुखुरा, बोका, हाँसको बलि दिने चलन थारु गुरुवाको भनाइ छ ।