नवीनराज कुइँकेल
लमजुङ, मङ्सिर ७ गते । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा ४ हजार ५ सयभन्दा बढी नयाँ मतदाताले नाम दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालय लमजुङका सूचना अधिकारी भूमीनारायण पौडेलले मङ्सिर ५ गतेसम्म जिल्लामा ४ हजार ५३१ जनाले नाम दर्ता गराएको बताउनुभयो ।
उहाँले १ हजार ४५७ जनाले निर्वाचन कार्यालयमा आएर फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको र ३ हजार ७४ जनाले राष्ट्रिय परिचयपत्रको आधारमा अनलाइनमार्फत नाम दर्ता गराएको बताउनुभयो ।
निर्वाचन कार्यालय लमजुङका प्रमुख यादवराज आचार्यकाअनुसार कार्यालयमा आएर नाम दर्ता गराउनेहरुमा ९०४ जना पुरुष र ५५३ जना महिला छन् । राष्ट्रिय परिचयपत्रको आधारमा नाम दर्ता गराएकाहरुमध्ये महिला पुरुष छुट्याउने काम भइरहेको छ ।
नाम दर्ता गराउन कात्तिक मसान्तसम्मको समयलाई थप गरेर मङ्सिर ५ गतेसम्म बनाइएको थियो । नयाँ नाम दर्ता गराएका मतदाताहरुमा अधिकांश मतदाता युवा मतदाता रहेको सो कार्यालयले जनाएको छ ।
लमजुङमा यसअघि एक लाख ३३ हजार ७१७ जना मतदाता रहेका थिए । त्यसमा ६५ हजार ४१८ जना पुरुष र ६८ हजार २९९ महिला थिए ।