चितवन समाचारदाता
चितवन, मङ्सिर ६ गते । पूर्वी चितवनको कालिका नगरपालिका अन्तर्गत चेपाङ बस्तीमा रहेको सिद्धि छात्रावासमा खाद्यान्न अभाव भएको छ । सुनौलो किरण संस्थाद्वारा दाताको सहयोगबाट सञ्चालित छात्रावासमा बालबालिकालाई खाद्यान्न अभाव भएको हो । विकट बस्तीमा भएको र आर्थिक अवस्था कमजोर भएकै कारण पढ्ने धोको अधुरो रहेका सीमान्तकृत चेपाङ समुदायका बालबालिकाको पढ्ने रहर पूरा गर्नका लागि मनकारी दम्पती भरत चेपाङ र ज्ञानिता राईले सिद्धिमा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय मजबाङ र श्री कालिका आधारभूत विद्यालय निबुवाटारनजिकै रहेको आफ्नो घरमा शुल्क नलाग्ने गरी सिद्धि छात्रावास सञ्चालन गर्नुभएको थियो ।
छात्रावास सञ्चालनका लागि अन्य कुनै स्रोत नभएकाले दाताहरूकै भर पर्नु बाध्यता भएको सञ्चालक भरत चेपाङले बताउनुभयो । छात्रावासमा हाल केही दिनका लागि मात्र खाद्यान्न बाँकी रहेको छ । तिहारमा छात्रावास बन्द भए पनि तिहारपछि खुल्नासाथ बालबालिकालाई के खुवाउने भन्ने समस्या रहेको बताउनुभयो । सञ्चालक चेपाङले बेला बेला सामाजिक सञ्जालमा खाद्यान्नलगायत आर्थिक सहायता हारगुहार गर्दै जुटाइरहनुभएको छ ।
छात्रावासमा बालबालिकाका लागि आवश्यक पूर्वाधारको अभाव छ । पढ्न र सुत्नका लागि पर्याप्त कोठा र फर्निचरको अभाव भएको उहाँले बताउनुभयो । टाँडीबाट २३ किमी टाढा रहेको यस स्थानमा दाता कम आउने भएकाले समस्या परेको उहाँले बताउनुभयो । भरत चेपाङले आफूले पढ्ने बेलामा पाएको दुःख आफ्नो समुदायका अरू बालबालिकाले नपाऊन् भन्ने उद्देश्यले गाउँमा छात्रावास खोलेको बताउनुभयो । छात्रावासमा ६९ जना छात्र र छात्रासहित ७१ जना बस्दै आएका छन् ।