• १३ साउन २०८१, आइतबार

जन्मसिद्धका सन्तानलाई नागरिकता दिइने : नेता महतो

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार २२ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का नेता तथा सांसद राजेन्द्र महतोले जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताउनुभएको छ । बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले सो कुराको जानकारी गराउनुभयो ।

जन्मसिद्धका सन्तानलाई संविधानको व्यवस्थाअनुसार कानून बनाएर नागरिकता दिन सरकार तयार भएको उहाँले बताउनुभयो । संसदमा रहेको पुरानो नागरिकता विधेयक फिर्ता गरेर नयाँ विधेयक लगि पारित गर्न सरकार सहमत भएको उहाँको विश्वास छ । नयाँ विधेयक संसदमा लगेर पारित गर्न सम्भव भएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो– ‘सहमति भएको विषयवस्तु भनेको जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सन्दर्भमा संवैधानिक व्यवस्थाअनुसारको कानून ल्याएर त्यसलाई पास गर्ने भन्ने कुरा भएको छ । त्यसैले जसमा विवाद छ, त्यसलाई फिर्ता गर्ने । 

अर्को विधेयक ल्याएर, सहमतिवाला विधेयक ल्याएर पास गरेर जन्मसिद्ध नागरिकको सन्तानहरुको समस्यालाई समाधान गर्नेतर्फ काम अगाडि बढाउने कुरा भएको छ ।’ संसदमा छिट्टै नागरिकता सम्बन्धी नयाँ विधेयक ल्याउन सरकार तयार रहेको उहाँको भनाइ छ ।