• ८ जेठ २०८१, मङ्गलबार

सुदूरपश्चिममा बढ्न थाल्यो कोरोना सङ्क्रमण

blog

भारतको गौरीफन्टा नाका भएर फर्किदैं गरेका नेपाली । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असार २२ गते । गत जेठमा कोरोनामुक्त घोषणा भएको सुदूरपश्चिम प्रदेशमा फेरि कोरोना सङ्क्रमण बढ्न थालेको छ । भारतबाट फर्किएका र स्थानीयस्तरमा रहेका व्यक्तिहरुमा कोरोना सङ्क्रमण देखा पर्न थालेको प्रादेशिक स्वास्थ्य निर्देशनालय धनगढीले जनाएको छ । 

यो प्रदेशमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ पुगेको सो कार्यालयले जनाएको छ । जसमध्ये सबैन्दा बढी कैलालीमा २७ र कञ्चनपुरमा १० जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो एक हप्तामा मात्रै १७ जना सङ्क्रमित थपिएका प्रादेशिक निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । प्रदेशको पहाडी जिल्ला डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी, डडेल्धुरा र दार्चुलामा भने अझै कोरोना सङ्क्रमित व्यक्ति फेला नपरेको निर्देशनालयले जनाएको छ । तर प्रदेशमा ठूला नाका रहेको कैलाली र कञ्चनपुरमा कोरोना सङ्क्रमण देखिएको छ । 

पछिल्लो समय सीमा नाका र सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा फाट्टफुट्ट रुपमा सङ्क्रमण पुष्टि भइरहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताउनुभयो । ‘सेती प्रादेशिक अस्पतालमा पीसीआर विधिबाट परीक्षण गर्दा पनि कोरोना पुष्टि भइरहेको छ’, उहाँले भन्नुभयो । 

अहिले छिमेकी मुलुक भारतमा पनि कोरोना सङ्क्रमण बढेको देखिएको छ । त्यहाँ कोरोना बढेका बेला भारतबाट फर्किने नेपाली कामदारको नाकामा परीक्षण गर्दा केही व्यक्तिमा कोरोना पुष्टि भएको छ । गौरीफन्टा र गड्डाचौकी नाकाबाट फर्किनेहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । भारतबाट फर्किनेहरुको नाकामा एन्टिजेन विधिबाट परीक्षण गरिदैं आइएको छ । नाकामा रहेका हेल्थ डेस्कमार्फत नियमित जाँच हुँदैआएको धामीले बताउनुभयो । हाल सेती प्रादेशिक अस्पतालमा एक जना सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच लाख ५० हजार १९८ को परीक्षण गरिएको छ । जसमध्ये ५९ हजार ७१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । 

तीन लाख २८ हजार २९८ मा जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १७ हजार ५१० जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख छ । यसैगरी, दुई लाख २१ हजार ९०० जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । सो विधिबाट परीक्षण गरिएकामध्ये ४२ हजार २०८ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।