• १३ साउन २०८१, आइतबार

बाँकेमा चौध वटा पक्की पुल निर्माण हुँदै

blog

बाँकेको जानकी गाउँपालिकाको दोन्द्रामा निर्माण गरिएको पुल । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, असार २२ गते । बाँकेमा लुम्विनी प्रदेश सरकारले एकसाथ १४ वटा ठूला पक्की पुलको निर्माण हुनेभएको छ । सडक पूर्वाधार विकास कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख शरदकुमार अधिकारीका अनुसार तीमध्ये दुईवटा पुलको निर्माणकार्य चालु आर्थिक वर्ष २०७८–७९ मा सम्पन्न भएको छ । सातवटा पुलको निर्माणकार्य जारी छ । थप पाँचवटा पुल निर्माणका लागि डीपीआरको काम भइरहेको छ । 

सडक पूर्वाधार विकास कार्यालयका अनुसार प्रदेश सरकारले बाँकेलाई पुल निर्माणमा प्राथमिकता दिएको छ । निर्माण सम्पन्न भएको र निर्माणाधीन गरी सातवटा पुलको कुल बजेट करिब ३७ करोड ५० लाख रुपियाँ छ । अन्य पाँचवटा पुलको लागत डीपीआर स्वीकृत भएपछि मात्रै एकिन हुने प्रदेश सरकारले जनाएको छ । डुडुवा गाउँपालिकाको बेतहनीस्थित डुडुवा नाला पुल र जानकी गाउँपालिकाको साईगाउँस्थित दोन्द्रा नाला पुल निर्माण कार्य सम्पन्न भएको छ । 

यसैगरी गत आव २०७८–७९ मा सम्झौता भई निर्माण सुरु भएका खजुरा गाउँपालिका २ सीतापुरस्थित किरण नाला पुल, खजुरा र जानकी गाउँपालिका जोड्ने खजुरा ४ चल्तुवास्थित किरण नाला पुल र बैजनाथ गाउँपालिकाको जिगाउँस्थित बनखेतमा जेठी नाला पुलको काम भइरहेको छ । 

यसैगरी चालु आवमा सम्झौता भएका खजुरा ४ सिर्जनाटोलस्थित किरण नाला पुल, खजुरा १ सैनिक रामपुरेडाडास्थित किरण नाला पुल, कोहलपुर नगरपालिकास्थित रोहिणी खोला पुल र राप्ती–सोनारी गाउँपालिकास्थित गौरीखोला पुलको निर्माण सुरु भएको छ । 

“पुल निर्माण कार्य चालु आवमा सन्तोषजनक रुपमा अघि बढ्न सकेन” सडक पूर्वाधार विकास कार्यालय बाँकेका निमित्त प्रमुख अधिकारीले भन्नुभयो, “निर्माण ब्यवसायीले होलीडे, निर्माण सामग्रीको मुल्य बृद्धि भएको लगायतका कारण देखाउँदै काम गरेनन ।” निर्माण ब्यवसायीले समयमै काम नगरिदिदा गत आवमा सम्झौता भएका तीनवटा पुल यसबर्ष पनि सम्पन्न हुन नसकेको कार्यालयका प्राविधिक अधिकृत ओमप्रकाश पौडेलले बताउनुभयो ।  

खजुरा २ सीतापुरमा पुरानो पुल भत्काएको र नयाँ पुल समयमै निर्माण सम्पन्न हुन नसक्दा नागरिकले सास्ती पाएका छन् । कार्यालयका अनुसार अन्य ५ वटा पुल निर्माणका लागि डीपीआरको काम भइरहेको छ । खजुरा गाउँपालिकाको बीगाउँस्थित गरैचा नाला, खजुराकै सिमलघारीस्थित जेठी नाला, खजुरा ४ भण्डरियास्थित किरण नाला, खजुरा जानकी जोड्ने बकसपुरस्थित मुर्गिया नाला र बैजनाथ गाउँपालिकाको चिसापानीस्थित जेठीनालामा पुल निर्माणका लागि डीपीआरको काम चलिरहेको छ ।  

बाँके क्षेत्र नम्बर ३ (ख) का प्रदेश सांसद बाबुराम गौतमले जनताको मागका आधारमा प्रदेश सरकारले धेरैभन्दा धेरै पुलका योजना समावेश गरी कार्यान्वयन गरेको बताउनुभयो । उहाँले डीपीआरको काम भइरहेका ठाउँमा समेत पुल निर्माणका लागि बजेट सुनिश्चित हुने आश्वासन पाएको बताउनुभयो । “ठाउँ ठाउँमा खोलानालामा पुल बनेपछि सर्वसाधारणलाई आवागमनमा सहज पहुँच पुग्नेछ,” सांसद गौतमले भन्नुभयो ।