गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २ गते । भ्वाइस सेवाको आम्दानी निरन्तर गुमाइरहेको सरकारी स्वामित्वको नेपाल टेलिकमको नाफा पनि निरन्तर घट्दो क्रममा छ ।
कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार टेलिकमले यो अवधिमा मात्रै ४१ करोड ४४ लाख रुपियाँ खुद नाफा गुमाएको छ ।
समीक्षा अवधिमा टेलिकमले एक अर्ब ३२ करोड रुपियाँ खुद नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तो नाफा गत आवको सोही अवधिमा एक अर्ब ७३ करोड रुपियाँ थियो । एक वर्षकै अन्तरमा टेलिकमले करिब २४ प्रतिशतले नाफा गुमाएको हो ।
यस अवधिमा टेलिकमको सञ्चालन आय सामान्य घटेको छ । प्रतिवेदन अनुसार पहिलो त्रैमासमा कम्पनीले आठ अर्ब ६७ करोड ९५ लाख रुपियाँ सञ्चालन आम्दानी गरेको छ, जुन गत आवको सोही अवधिमा आठ अर्ब ६८ करोड एक लाख रुपियाँ थियो ।
एक वर्षमा टेलिकमले छ लाख ७१ हजार रुपियाँ सञ्चालन आम्दानी गुमाएको तथ्याङ्कले देखाउँछ । सञ्चालन आय भन्नाले टेलिकमले आफ्नो सेवा बिक्री गरेबापत आर्जन गरेको आम्दानी बुझाउँछ । यो आम्दानीमा टेलिकमले निक्षेपबापत आर्जन गरेको ब्याज जोडिँदैन ।
ब्याजसहितको कम्पनीको कुल आम्दानी पनि घटेको छ । पहिलो त्रैमासमा कम्पनीले नौ अर्ब ४७ करोड १० लाख रुपियाँ आम्दानी गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ५९ करोड रुपियाा २६ लाख रुपियाँले कम हो । गत आवको सोही अवधिमा कम्पनीले १० अर्ब छ करोड ३७ लाख रुपियाँ आम्दानी गरेको थियो ।
विदेशबाट हुने आगमन कल घट्दा कम्पनीको आम्दानी र त्यसले नाफामा समेत असर पारेको कम्पनीले जनाएको छ । खास गरी कल तथा भिडियो कल गर्न सकिने तेस्रो पक्ष एपको प्रयोग बढ्दा टेलिकमको नम्बर विदेशबाट सोझै आउने कल व्यापक घटेको छ । यसले कम्पनीको आम्दानीमा प्रत्यक्ष असर पारेको छ ।
त्यस्तै कम्पनीले विभिन्न बैङ्क तथा वित्तीय संस्थामा राखेको मुद्दती निक्षेपबाट प्राप्त हुने ब्याज आम्दानी घट्दा आम्दानी र नाफामा असर पुगेको कम्पनीले जनाएको छ । बजारमा ब्याजदर नै घटेका कारण ब्याज आम्दानीबापत कम्पनीले ५० करोड रुपियाँ गुमाउनु परेको जनाएको छ ।
आम्दानी र नाफा दुवै घटे पनि कर्मचारीतर्फ कम्पनीको व्ययभार भने बढेको देखिन्छ । कम्पनीका अनुसार कर्मचारी बिमा खर्च १.९५ करोडले बढेको छ भने सम्बन्धी खर्च १६.५ करोडले बढेको छ । यसले कुल कर्मचारी खर्च आठ करोड ८० लाख रुपियाँले बढेको टेलिकमले जनाएको छ ।