• १२ साउन २०८१, शनिबार

मन्त्रिपरिषद् बैठक निर्णय

दुर्घटनाका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने

blog

तस्बिर : मुख्यमन्त्रीको सचिवालय प्रदेश १ को मन्त्रिपरिषद्को बैठक ।

विराटनगर, असार २२ गते । प्रदेश सरकारले सवारीसाधन दुर्घटनाका कारण घाइते भएकाको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले बीमा रकमभन्दा बढी हुने उपचार खर्च सरकारले दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रदेश सरकार मातहतमा रहेका सवारीसाधन दुर्घटनामा परेर घाइते हुने सर्वसाधारणको उपचारमा जटिलता आएपछि सरकारले यस्तो निर्णय गरेको जानकारी दिनुभयो । बीमा रकमभित्र उपचारमा समस्या नभएको तर त्योभन्दा बढी खर्च लाग्ने अवस्थामा पीडितले नै खर्च गर्नुपर्दा उपचारमा समस्या आउनसक्ने देखिएकोले सरकारले निर्णय गरेर उपचार खर्च बेहोर्ने व्यवस्था गरेको हो । 

मन्त्रिपरिषद् बैठकले यसअघि गरेको प्रदेश यातायात व्यवस्था निर्देशनालय हटाउने निर्णय सच्याएको छ । प्रदेश यातायात व्यवस्था ऐनको प्रतिकुल हुनेगरी यसअघि मन्त्रिपरिषद् बैठकले निर्देशनालय हटाएको थियो । जसले यातायात निर्देशनालयबाट सम्पादन हुँदै आएको काम कारबाही प्रभावित भएकोले बैठकले उक्त निर्णय सच्याएको हो । 

बैठकले मोरङको कटहरीमा रहेको कटहरी फलफूल तथा तरकारी थोक बजार नियमावलीको दोस्रो संशोधन प्रस्ताव पारित गरेको छ । नियमावलीमा थोक बजारमा लेखा अधिकृतको दरबन्दी रहेकोमा त्यसलाई सच्याउँदै लेखा अधिकृत स्तरको कर्मचारी भन्ने शब्द थप गरिएको छ । बैठकले प्रदेश भवन निर्माण ऐन कार्यान्वयन गर्न कार्यविधि निर्माणको स्वीकृति दिने निर्णय गरेको छ । प्रदेश १ मा निर्माण हुने अस्पतालले निर्माण अनुमति मागे पनि कार्यविधि अभावमा स्वीकृति दिन सकेको थिएन । उहाँले अस्पताल भवनको सम्बन्धमा मात्र कार्यविधि बन्ने जानकारी दिनुभयो ।