• १३ असार २०८१, बिहिबार

जसपाका अध्यक्षद्वय यादव र भट्टराईले छुट्टा-छुट्टै भेला गर्दै

blog

काठमाडौं, असार २१ गते। सत्ता साझेदार दल जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा वीरगञ्जमा असार २९ र ३० गते केन्द्रीय समिति बैठक बस्दैछ।  

यसअघि जसपाले असार २८ र २९ गते केन्द्रीय समितिको बैठक बोलाए पनि सो दिन मुस्लिम समुदायको वकर–ईद (कुर्वानी) परेकोले बैठकको मिति सारिएको केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारी मंगलबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ। 

यसैबीच, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले असार २९ र ३० गते काठमाडौंमा छुट्टै भेला आयोजना गर्दै हुनुहुन्छ। यसअघि अध्यक्षद्वय यादव र भट्टराईबीच अलग हुने समझदारी भएको थियो। 

पूर्वमन्त्रीसमेत रहनुभएका जसपाका उपाध्यक्ष रेणुकुमारी यादवले वीरगञ्जको केन्द्रीय समितिको बैठकबारे थाहा भए पनि भट्टराई पक्षको भेला बारे जानकारी नभएको बताउनुभयो। यस विषयमा बोल्नुहुँदै उहाँले भन्नुभयो, “अब त्यो थाहा भएन, बाबुरामजी के गर्दै हुनुहुन्छ। शीर्ष नेताबीच के छलफल भएको छ, त्यो नेतालाई नै थाहा होला, मलाई बढी थाहा भएन।”

जसपा महासचिव नरध्वज लिम्बुले भने पार्टीमा देखिएको समस्या बुद्धिमतापूर्वक ढंगले समाधान गर्ने पक्षमा आफूहरु रहेको बताउनुभयो। “बुद्धिमतापूर्ण ढंगले, अपमान गर्ने हिसाबले होइन। मान, मनितोका साथ समाधान गर्ने पक्षमा हामी छौं। छुट्टै भेला बोलाउनुभएको भन्ने पनि छ, वार पारको कुरा पनि नगरौं होला”, अध्यक्ष भट्टराईमा अलि बढ्ता महत्वकांक्षा देखिएको उहाँको भनाइ छ।

अध्यक्ष भट्टराईले आफू पक्षमा पार्टीका सदस्यको हस्ताक्षर संकलन गर्नुभएको छ। तर, उहाँको पक्षमा २५ देखि ३० प्रतिशत मत पनि नजुट्ने दाबी यादव पक्षका नेताको छ। नयाँ पार्टी गठनका लागि संसदीय समिति र पार्टीमा ४० प्रतिशत आवश्यक हुनाले भट्टराईद्वारा नयाँ पार्टी गठन हुने विषय प्रष्ट हुन सकेको छैन। 

अध्यक्ष यादवका प्रेस संयोजक याम चौरासियाका अनुसार वीरगञ्जको बैठकमा अध्यक्ष भट्टराई पक्ष नजाने पक्का भएको छ। त्यही समय अध्यक्ष भट्टराईले अर्को बैठक काठमाडौंमा राख्नुभएको उहाँ बताउनुहुन्छ।  

उता, जसपाका अर्का महासचिव गंगानारायण श्रेष्ठले अध्यक्ष भट्टराईले असार २९ र ३० गते काठमाडौंमा भेलाको आह्वान गर्नुभएको जानकारी दिनुभयो। “त्यो केन्द्रीय समितिको विस्तारित बैठकले पार्टीभित्रको समस्याबारे छलफल, बहस गरेर आवश्यक निर्णय गर्छ”, उहाँले भन्नुभयो। 

अध्यक्ष भट्टराईले व्यक्तिगतरुपमा पार्टी घोषणा गर्ने कुरा नहुने बताउनुहुँदै श्रेष्ठले भेलामा हजारभन्दा बढी नेता सहभागी हुने दाबी गर्नुभयो। लोकतन्त्रको प्रयोग गरेर नेताले विचार राखेपछि त्यसको आधारमा आवश्यक निर्णय हुने उहाँको भनाइ छ। 

काठमाडौंको कुन स्थानमा भेला गर्ने भन्नेबारे निश्चित भइनसकेको उहाँको भनाइ छ।  

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।