• १८ असार २०८१, मङ्गलबार

पहिरोले सदरमुकामकै बस्ती जोखिममा

blog

मुसीकोट–५ मा गएको पहिरो र पहिरो स्थल अनुगमनको लागि पुगेका नगर प्रमुखसहितको टोली । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुम पश्चिम, असार २१ गते ।
सोमबारदेखि परेको निरन्तरको वर्षाका कारण गएको पहिरोले रुकुम पश्चिमको जिल्ला सदरमुकामको एक बस्ती जोखिममा परेको छ । जिल्लाको मुसीकोट नगरपालिका–५ को घुयलपानी डाङडुङ्गे बस्ती जोखिममा परेको हो ।

सोमबार रातिबाट आएको अबिरल वर्षाका कारण गएको पहिरोले बस्तीका १८ घर जोखिममा रहेको वडा अध्यक्ष समिरजंग मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार बस्तीका चार घर अति जोखिममा रहेका छन् भने १४ घर पनि जोखिममा रहेका छन् । वर्षाका कारण गएको पहिराले उक्त वडामा आवतजावत गर्ने बाटो र बत्ति समेत अवरुद्ध भएको छ ।


उक्त स्थानमा अहिले पनि पहिरो गइरहेकोले वडा अध्यक्ष मल्लले उल्लेख गर्नुभयो । मुसीकोट नगरपालिकाका नगरप्रमुख महेन्द्र केसीसहितको टोली पहिरो स्थलमा पुगेर फर्किएको छ । नगरप्रमुख केसीले जोखिममा रहेको उक्त बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न सुझाव दिनुभएको छ ।

उहाँले वर्षाको कारण गएको पहिराले विद्युतका पोल पुरेको र बस्तीमा जाने बाटो अवरुद्ध भएको जानकारी दिनुभयो ।

विद्युत नभएको कारण सञ्चार सम्पर्कमा समस्या भएको छ भने खाद्यन्न आपूर्तिमा  समेत समस्या पर्ने बताइएको छ । उक्त स्थानमा सुरक्षित खानेपानी, खाद्यन्न र बासस्थानको व्यवस्था गर्न स्थानीयले माग गरेका छन् ।