• १८ असार २०८१, मङ्गलबार

मुगुको रारा तालमा पुग्यो बिजुली

blog

हरिकृष्ण ऐडी
मुगु असार २१ गते ।
कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य स्थल रारा तालमा बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत् पुर्‍याएको हो ।

प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको चार सय किलोवाट क्षमताको गमगाढ जलविद्युतगृहबाट उत्पादित विद्युत् करिब २५ किलोमिटर प्रसारण लाई निर्माण गरी सोमबारबाट रारा क्षेत्रका ग्राहकलाई विद्युत् उपलब्ध गराएको हो ।

पर्यटकीय क्षेत्रमा बिजुली पुराउने उद्देश्यले गमगाढ जलविद्युतगृहले पाँच वर्षपछि विद्युत् उपलब्ध गराएको वितरण केन्द्रका कार्यालय प्रमुख दिनेश पौडेलले जानकारी गराउनुभयो ।

रारामा मिटर वितरणका लागि पहिलो चरणमा श्रीबक्स गुल्म रारा, रारा राष्ट्रिय निकुञ्ज कार्यालय र डाँफे होटल एण्ड लजलाई वितरण गर्ने कार्यालय प्रमुखले बताउनुभयो ।

प्राधिकरणका कार्यालय प्रमुख दिनेश पौडेलले राराको विद्युत लाइन र ट्रान्सफर्मरमा चार्जभइ  सोमबारदेखि विद्युत सञ्चालनमा ल्याइएको बताउनुभयो ।

उहाँले रारा राष्ट्रिय निकुञ्जको जङ्गलमा करिब १० किलोमिटर लाइन बनाउनु पर्ने थियो, त्यसले गर्दा केही समय लागेको जानकारी दिनुभयो ।

निकुञ्ज, स्थानीय प्रशासन, सुरक्षार्थ खटिएका नेपाली सेना र स्थानीयसँगको समन्वय र सहयोगमा लाइन निर्माण गरी त्यस क्षेत्रमा विद्युत पुर्याउन सफल भएको उहाँको भनाइ छ ।