• २७ कात्तिक २०८२, बिहिबार

मेलम्चीको पानी नियमित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २७ गते । सरकार र स्थानीयसँगको सहमतिसँगै बुधबारदेखि मेलम्चीको पानी पथान्तरण सुरु गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको उपस्थितिमा सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मङ्गलबार राति दुई पक्षबिच समझदारी पत्रमा हस्ताक्षर भएपछि एक हप्तादेखि अवरुद्ध पानी सुरुङमा पठाउन सुरु भएको हो । 

तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग १३ महिनाअघि भएको सम्झौता कार्यान्वयन माग गर्दै स्थानीयवासीले गत बिहीबार मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्र बन्द गरेका थिए । २०७८ असार १ गते मेलम्चीमा आएको बाढीपछि सो क्षेत्रमा उत्पन्न समस्या सम्बोधन गर्न तत्कालीन खानेपानीमन्त्री यादव र मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिबिच २०८१ असोज २१ गते सम्झौता भएको थियो ।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता ई. राजेन्द्रप्रसाद पन्तले मेलम्ची मुहानमा लगाइएको ताल्चा बुधबार दिउँसो ३ बजे खोलेपछि पानी सुरुङमा पानी पठाउन सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पानी पथान्तरण सुरु गर्न अम्बाथानस्थित हेडवक्र्सको ढोका र सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको ढोका एकै पटक खोलिएको थियो । आयोजनाको सुरुङ पानीले भरिएकै हुनाले हेडवक्र्स र प्रशोधन केन्द्रको ढोका एकै पटक खोलिएको छ ।”

वितरण प्रणालीमा कुनै समस्या नभएकाले बुधबार रातिबाटै ग्राहकको धारामा पानी आउने उहाँले बताउनुभयो । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता पन्तले सरकार र स्थानीयबिच भएको समझदारीको कार्यान्वयन गर्ने क्रममा मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवक्र्स) जाने सडक स्तरोन्नति गर्न बुधबारै सडक डिभिजन कार्यालय, चरीकोटले बोलपत्र आह्वान गरेको जानकारी दिनुभयो । मेलम्ची खानेपानी आयोजनाको मुहानदेखि क्युल, टिम्बु हुँदै मेलम्ची गाउँसम्मको बाटो कालोपत्र गर्ने समझदारी भएको छ । उहाँका अनुसार मेलम्ची–अम्बाथान–मेलम्चीघ्याङ सडकखण्डको १७ किलोमिटर कालोपत्र गर्न तीन प्याकेजमा बोलपत्र आह्वान गरिएको हो ।