• २६ कात्तिक २०८२, बुधबार

विद्यार्थीबिच दुना–टपरी गाँस्ने प्रतियोगिता

blog

दुना टपरी गाँस्दै प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरु ।

ज्ञानु पंगेनी

मध्यविन्दु, कात्तिक २६ गते । हातमा सालको पात र बाँसको सिन्का लिएर दुना टपरी गाँस्दै गर्नुभएकी सरस्वती पौडेल उमेरले भर्खर नौ वर्ष पुग्नुभयो । उहाँ नवलपुरको कावासोती नगरपालिका ७ मा रहेको सूर्योदय आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत हुनुहुुन्छ । 

उमेर सानो भए पनि लक्ष्य भने ठुलो राखेर उहाँ कावासोती नगरपालिकाले आयोजना गरेको नगरस्तरीय दुना–टपरी गाँस्ने प्रतियोगितामा भाग लिन आउनुभयो । उहाँले प्रतियोगितामा भाग लिनकै लागि भनेर केही दिन अघिदेखि मात्र दुना टपरी गाँस्न सिकेको बताउनुभयो । 

प्रतियोगितामा भाग लिन पाउँदा निकै उत्साहित देखिनुभएकी उहाँ आफ्नो साथी प्रभाससँग मिलेर धेरै दुना टपरी गाँस्ने अनि विजयी हुने आशमा देखिनुहुन्थ्यो । उहाँसँगै आउनुभएका साथी प्रभास भट्टराई पनि ११ वर्ष मात्रै पुग्नुभयो । उहाँ कक्षा ५ मा पढ्नुहुन्छ । उहाँ पनि दुना टपरी गाँस्ने प्रतियोगितामा सहभागी भएर उत्कृष्ट हुन्छु भन्ने सोँचका साथ सहभागी हुनुभयो ।  

दुना टपरी गाँस्ने काम झट्ट धेरैले सक्दैनन् । गाह्रो हुने अनि झर्को लाग्नेखालको काम भएको हुँदा अहिलेको नयाँ पुस्तामा दुना टपरी गाँस्ने सीप कमै मात्र पाइन्छ । बुधवार कावासोती १ रिठेपानीमा रहेको जनकल्याण माध्यमिक विद्यालयको संयोजन तथा कावासोती शिक्षा शाखाको आयोजनामा भएको दुना–टपरी गाँस्ने प्रतियोगितामा कक्षा ३ मा अध्ययन गर्ने साना–साना बालबालिकादेखि १० कक्षामा अध्ययन गर्ने किशोर किशोरीको सहभागिता थियो । 

जसमध्ये कतिपयले घरमै आफ्नो आमा–हजुरआमाले गाँसेको देखेर सिको गर्दै दुना–टपरी गाँस्न सिक्नुभएको थियो । कतिपयले प्रतियोगिताको सूचना पाएपछि केही दिनअघि मात्रै गाँस्न सिक्नुभएको बताउनुभयो ।  

सहभागीमध्येका एकजना सुजित सुनार हुनुहुन्छ । उहाँ जनकल्याण मावि रिठेपानीमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुनुहुन्छ । निकै छिटो हात चलाउन सिपालु उहाँले दुनाटपरी पनि उस्तै राम्रो गाँस्नुभएको थियो । उहाँले चार पाँच वर्षअघिदेखि घरमै दुना टपरी गाँस्न सिक्नुभएको रहेछ । 

उहाँजस्तै ज्ञानोदय माविको कक्षा ७ मा पढ्ने छात्र लिजन शर्मा पनि प्रतियोगिताका लागि दुना गाँस्दै हुनुहुन्थ्यो । टपरी पनि अलि गाँस्न आउने बताउने उहाँले घरमा आमाबाट दुना टपरी गास्न सिक्नुभएको रहेछ । ‘घरमा आमाले गाँसेको देख्दा मलाई पनि गाँस्न मन लाग्थ्यो । आमाले सिकाइ दिनुभयो, अहिले दुना राम्ररी खुट्छु, टपरी पनि अलिअलि बनाउन आउँछ’ लिजनले भन्नुभयो । 

प्रतियोगितामा सामुदायिक र संस्थागत गरी २४ वटा विद्यालयको सहभागितो थियो । छात्र र छात्रा गरी एउटा विद्यालयबाट दुई–दुई जनाले सहभागिता जनाएका थिए । जसमध्ये सबैभन्दा धेरै गाँस्ने आकर्षक गाँस्ने र दुना र टपरी बराबर गाँस्ने विद्यालयलाई पुरस्कृत गरिएको छ । 

जकल्याण मावि कावासोती १ प्रथम, जनता मावि सहिदनगर कावासोती १६ द्वितीय, गोसाइबाबा आधारभूत विद्यालय कावासोती १७ तृतीय र दिपेन्द्र आधारभूत विद्यालय कावासोती १६ सान्त्वना हुन सफल भएका छन् । 

कावासोती नगरपालिकाले विगत तीन वर्षदेखि दुना–टपरी गाँस्ने प्रतियोगिता सञ्चालन गर्दैआएको छ । दैनिक जीवनमा प्रयोग हुने सिपलाई विद्यालयमा पनि सिकाउनु पर्छ भन्ने उद्देश्यले कावासोती नगरपालिकाले यस सीपलाई प्रबर्धन गर्न प्रत्येक शैक्षिक वर्षको क्यालेण्डरमै राखेर प्रतियोगिता नै सञ्चालन गर्दैआएको स्रोत शिक्षक तीर्थ कंडेलले बताउनुभयो । 

प्रतियोगिताको निर्णयकको रुपमा जनकल्याण माविका शिक्षक विष्णु पोख्रेल पंगेनी र कावासोती १ की वडा सदस्य तथा शिक्षक अभिभावक संघकी अध्यक्ष सृजना विश्वकर्मा रहनुभएको थियो ।