काठमाडौँ, कात्तिक २६ गते। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले पार्टी महाधिवेशनको विषयमा पक्षविपक्षमा बाँडिएर द्वन्द्व बढाउने भन्दा विशेष महाधिवेशनको माग राख्ने साथीको भावनालाई समेटेर केन्द्रीय समितिबाट सर्वसम्मत समाधान खोज्नुपर्ने बताउनुभएको छ।
जारी केन्द्रीय समितिको बैठकमा बुधबार आफ्नो धारणा राख्दै डा. कोइरालाले यतिबेला विशेष महाधिवेशनमा पार्टी जानु नहुने भन्दै विशेष महाधिवेशन माग गरेका साथीलाई पनि विश्वासमा लिएर अगाडि बढ्नु व्यवहारिक हुने बताउनुभयो।
कोइरालाले सामाजिक न्याय र समतामुलुक समाज निमार्णको बिपीको विचारलाई स्थापित गर्न र नेपाललाई त्यो मार्गबाट समुन्नतिमा पुर्याउनका लागि द्वन्द्व व्यवस्थापनलाई केन्द्रमा राख्नुपर्नेमा आफू प्रष्ट भएको बताउनुभयो।
उहाँले राष्ट्र र पार्टीको वर्तमान विषम परिस्थिति रहेको अवस्थामा हठात प्रतिक्रिया, आरोप, प्रत्यारोप, आवेग, हठ भन्दा विपरित विचारप्रति सहिष्णुता, सहअस्तित्वका साथ द्वन्द्व व्यवस्थापन गर्दै बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई मनन् गर्दै एकताबद्ध पार्टी निर्माण आजको आवश्यकता रहेको बताउनुभयो।
उहाँले आफू सदैब अभियानमा रहेको पनि उल्लेख गर्नुभयो। कोइरालाले भने, ‘आज नेपालमा द्वन्द्व व्यवस्थापन पुरानो पुस्ता र आजको पुस्ताबिच, मधेश र पहाडबिच, लोकतान्त्रिक आन्दोलन र कम्युनिस्ट आन्दोलनबिचमा गर्नुपर्छ।’
डा. कोइरालाले मुख्य विषय फागुन २१ को निर्वाचन भएको बताउँदै उक्त निर्वाचनमा जान सबै राजनीति दल, नागरिक समाजलगायत सबैलाई एकताबद्ध बनाउनुपर्ने दायित्व नेपाली कांग्रेसको भएको स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, ‘यतिबेला नेपाली कांग्रेस आन्तरिक रूपान्तरणको चरणमा छ। मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आम निर्वाचन नै एकमात्र विकल्प हो। त्यही कारण कांग्रेस फागुन २१ को निर्वाचनमा सहभागी हुनुपर्छ।’
पूर्वमहामन्त्री कोइरालाले जेनजी आन्दोलनपछि सरकार मात्र बदलिएको तर संविधान यथावत रहेको भन्दै फागुन २१ को निर्वाचन मार्फत बन्ने प्रतिनिधि सभाले आवश्यक संविधान संशोधन गरेर जेनजीका जायज माग पूरा गर्न सक्ने पनि बताउनुभयो।
उहाँले दुई छिमेकी मित्रराष्ट्रसँगको सम्बन्ध सुदृढिकरणमा हामीले विषेश ध्यान दिनुपर्ने भन्दै नेपालको हितमा उपयोग हुनेगरि मित्रराष्ट्रहरूको सरोकारलाई समेत ध्यानमा राखेर अगाडि बढ्नुपर्ने स्पष्ट पार्नुभयो।
उहाँले भदौ २३ र २४ गते घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै उक्त घटनाको निष्पक्ष छानबिन गरेर सम्पूर्ण वास्तविकता सार्वजनिक गरिनुपर्ने माग गर्नुभयो।