• २६ कात्तिक २०८२, बुधबार

गृहमन्त्री अर्यालबाट आइजिपी खापुङको बिदाइ

blog

आइजिपी चन्द्रकुवेर खापुङलाई बिदाइ गर्नुहुँदै गृहमन्त्री ओमप्रकाश अर्याल। तस्बिरः गृहमन्त्रीको निजी सचिवालय

काठमाडौँ, कात्तिक २६ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले प्रहरी सेवामा रहँदा र नेतृत्वमा छोटै समय रहनु भए पनि उहाँले देखाउनु भएको बौद्धिकता र पेसाप्रतिको दक्षताले प्रहरीभित्र कर्मचारीको मनोबल उच्च नै रहेको बताउनुभएको छ।  

३० वर्षीय अनिवार्य सेवा पश्चात् बुधबारबाट अवकाशमा जान लाग्नु भएका खापुङलाई सुखद जीवनको बधाई दिनुहुँदै, मन्त्री अर्यालले खापुङले उहाँको अनुभव अवकाश जीवनपछि पनि राष्ट्रलाई खाचो रहेको बताउनुभयो।  

सरकार गठनको परिस्थिति र अवस्थाबारे सबैलाई जगजाहेर रहेको कुरा बताउनुहुँदै गृहमन्त्री अर्यालले भन्नुभयो, ‘आइजिपीसँगको सम्बन्ध छोटो नै भए पनि विशेष नै रह्यो।’ गृह मन्त्रालयको नेतृत्व र प्रहरी प्रमुख र सम्पूर्ण जिम्मेवार प्रहरीको अनुभव र कार्यकुशलताले मात्रै समग्रमा एउटा राष्ट्र सफल हुने विचार गृहमन्त्री अर्यालले व्यक्त गर्नुभयो।  

गृहमन्त्री अर्यालले भन्नुभयो, ‘अवकाश हुँदैमा छुट हुँदैन, राष्ट्रिय जीवनमा तपाईंहरूको योगदान यो मुलुकले अपेक्षा गरिरहने छ।’  

यस्तै कार्यक्रममा गृह सचिव रामेश्वर दङ्गालले गृह र सुरक्षा सङ्गठनका भूमिका फरक भएता पनि दुवैको लक्ष एउटै हो। सङ्गठनको नेतृत्वमा रहेर खापुङले देखाउनु भएको कार्यकुशलताको प्रसंशा गर्नुहुँदै सचिव दंगालले उहाँको अवकाश पछिको जीवन थप सफल, सुखमय, फलदायी र ऊर्जाशील रहने विश्वास व्यक्त गर्नुभयो। 

कार्यक्रममा बोल्नुहुँदै आइजिपी खापुङले कुनै पनि सेवामा सफल हुनका लागि सेवाप्रति निष्ठा भाव र लगनशीलता महत्त्वपूर्ण हुने कुरा व्यक्त गर्नुभयो।  

 कार्यक्रमको अवसरमा निवृत्त हुन लाग्नु भएका खापुङलाई गृहमन्त्री अर्याल र सचिव दंगालले मायाको चिनो, फूलमाला र खादाले बिदाइ गर्नुभएको थियो।