• २६ कात्तिक २०८२, बुधबार

दिल्ली विस्फोटपछि काश्मीरमा प्रहरीको कडाइ, धेरै सन्दिग्ध हिरासतमा

blog

श्रीनगर (भारत), कात्तिक २६ गते । भारतीय सुरक्षा निकायले यस हप्ता नयाँदिल्लीमा भएको घातक कार विस्फोटको अनुसन्धानको सिलसिलामा विवादित काश्मीर क्षेत्रमा व्यापक छापा मार्दै धेरै सन्दिग्धलाई हिरासतमा लिएको अधिकारीले बुधबार जनाएका छन् ।

सोमबार राजधानी नयाँदिल्लीको ऐतिहासिक लाल किल्ला नजिकै भएको उक्त विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको थियो र दर्जनौँ घाइते भएका थिए । अधिकारीले मङ्गलबार यस घटनालाई सम्भावित आतङ्कवादी गतिविधिका रूपमा अनुसन्धान भइरहेको पुष्टि गरेका छन्, जसअनुसार अनुसन्धान कर्तालाई व्यक्तिलाई पक्राउ गर्न वा हिरासतमा लिन विशेष कानुनी अधिकार प्राप्त हुन्छ ।

१७ औँ शताब्दीमा निर्माण गरिएको लाल किल्ला भारतको प्रमुख ऐतिहासिक र सांस्कृतिक प्रतीक हो । यहाँ प्रत्येक वर्ष अगस्ट १५ का दिन प्रधानमन्त्रीले स्वतन्त्रता दिवसको सम्बोधन गर्ने परम्परा छ । यदि यो विस्फोट जानाजानी गरिएको आक्रमण भएको प्रमाणित भयो भने यो सन् २०११ पछि भारतको राजधानीमा भएको सबैभन्दा घातक घटना हुने छ ।

काश्मीरको दक्षिणी पुलवामा जिल्लामा मङ्गलबार राति गरिएको शृङ्खलाबद्ध छापामा कम्तीमा पाँच व्यक्तिलाई सोधपुछका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ । अधिकारिका अनुसार सोमबारको विस्फोट त्यसअघि केही घण्टा मात्र अघि भारतीय नियन्त्रित काश्मीरमा प्रहरीले नयाँदिल्ली बाहिरी क्षेत्र फरिदाबादमा सञ्चालन भइरहेको सन्दिग्ध आतङ्कवादी सेललाई ध्वस्त पारेको घोषणा गरेपछि भएको हो । 

फरिदाबादमा दुई चिकित्सकसहित कम्तीमा सात जनालाई पक्राउ गरिएको थियो । प्रहरीले ठुलो मात्रामा हतियार र बम बनाउने सामग्री जफत गरेको बताइएको छ । भारतीय समाचार संस्थाका अनुसार दिल्ली विस्फोट उक्त सेलसँग प्रत्यक्षरूपमा जोडिएको हुन सक्ने आशङ्का गरिएको छ । तर प्रहरी निकायले चलिरहेको अनुसन्धानलाई कारण देखाउँदै यस विषयमा औपचारिक टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

मुद्दासँग परिचित चार काश्मीरी प्रहरी अधिकारीले नाम नखुलाउने सर्तमा बताएका अनुसार यो अनुसन्धान अक्टोबर १९ मा श्रीनगर वरपर भारतविरोधी पोस्टर देखिएपछि सुरु भएको थियो । ती पोस्टरले काश्मीरमा तैनाथ भारतीय सैनिकमाथि आक्रमण गर्ने धम्की दिएका थिए । अधिकारीहरूले सिसिटिभी फुटेजको सहयोगमा सन्दिग्धको पहिचान गरिएको र सुरुमा कम्तीमा तीन जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

पछिल्लो तीन हप्तामा सोधपुछका क्रममा भारतका दुई सहरमा कार्यरत दुई काश्मीरी चिकित्सक र अन्य दुई स्थानीय व्यक्तिलाई पनि हिरासतमा लिइएको छ । स्थानीय सञ्चार माध्यमले उक्त विस्फोटमा प्रयोग गरिएको कारको चालक काश्मीरको भएको दाबी गरेका छन् । भारतीय समाचार संस्थाले फरिदाबादको मेडिकल कलेजमा कार्यरत एक काश्मीरी चिकित्सक त्यही कारमा सवार थिए कि थिएनन् भन्नेबारे प्रहरी अनुसन्धान चलिरहेको जनाएका छन् ।

हालसम्म प्रहरी निकायले यी दाबीको पुष्टि गरेका छैनन् । तर भारतीय सञ्चार माध्यमका अनुसार सम्भवतः चिकित्सकले गिरफ्तारीबाट बच्न जानाजानी विस्फोट गराएको वा अनजानमा विस्फोटक पदार्थ ओसार्ने क्रममा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । दिल्ली प्रहरीका प्रवक्ता सञ्जय त्यागीले अनुसन्धान कर्ताले ‘आतङ्कवादी आक्रमण, आकस्मिक विस्फोट वा कारमा भएको यान्त्रिक विफलता जस्ता सबै कोणबाट अनुसन्धान गरिरहेको’ जानकारी दिनुभयो ।

यसबिच, पुलवामा जिल्लाका चिकित्सकमध्ये एक जना सन्दिग्धकी बहिनी शगुफ्ता जानले गत शुक्रबारदेखि आफ्नो भाइसँग सम्पर्क हुन नसकेको बताउनुभयो । “उहाँले शुक्रबार हामीलाई फोन गरेर घर आउँछु भन्नुभएको थियो । तीन दिनपछि आउने बताउनुभएको थियो, तर त्यसपछि कुनै सम्पर्क भएन”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार सोमबार राति प्रहरी अधिकारी घरमै आएर चिकित्सककी आमासँगै उनका दुई दाजुभाइलाई पनि सोधपुछका लागि साथमा लगेका छन् । भारतीय अधिकारीले भने अनुसन्धान संवेदनशील भएकाले थप विवरण सार्वजनिक गर्न अस्वीकार गरेका छन् । रासस/एपी