• २६ कात्तिक २०८२, बुधबार

देउँसीभैलोको पैसाले विद्यालयमा अक्षयकोष स्थापना

blog

खुकुरी युवा क्लबद्वारा सिद्धबाबा माविलाई रकम हस्तान्तरण गर्दै । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), कात्तिक २६ गते । गुल्मीको रेसुङ्गा नगरपालिक–८ को खुकुरी युवा क्लबले तिहारमा खेलेको देउँसीभैलोको रकमबाट सिद्धबाबा माविमा अक्षयकोष स्थापना गरेका छन् । आफूहरू खुकुरी ब्यान्डबाट स्थापित भएकाले गीतसङ्गीतमा स्थानीय प्रतिभा उजागर गर्न सिद्धबाबा माविमा अक्षयकोष स्थापना गरेको क्लब अध्यक्ष निशान टण्डनले जानकारी दिनुभयो । 

यो क्लब स्थापना भएका तीन वर्ष भयो । क्लबले २५ हजार रुपियाँबाट अहिले अक्षयकोष सुरु गरेको छ । यो रकमको ब्याज सिद्धबाबा माविमा हुने गीत सङ्गीतसँग सम्बन्धित प्रतिभा पहिचानमा खर्च हुने टण्डनले बताउनुभयो । बर्सेनि अक्षयकोषमा रकम थप गर्दै लैजाने क्लबको योजना रहेको छ । क्लबले जिल्लास्तरीय क्रिकेट प्रतियोगिता, देउँसीभैलो, फागु उत्सब, सरसफाइ लगायतका सामाजिक काम गर्दैआएको छ । 

सिद्धबाबा माविका प्रध्यानाध्यापक डोरबिक्रम श्रीसले तिहारमा साथीहरू मिलेर खेलेको देउँसीभैलोबाट सङ्कलित रकम विद्यालय र विद्यार्थीको हितमा खर्च गर्ने क्लबको पबित्र उद्देश्यको प्रसंशा गर्नुभयो । रकम जति भए पनि सोच उत्कृष्ट रहेकाले यो सामाजिक कार्य अरुको लागि पनि प्रेरणा बन्ने श्रीसले बताउनुभयो । क्लबका सल्लाहकार नारायण आचार्यले खुकुरी ब्याण्डले सचिन विश्वकर्माजस्ता प्रतिभा जन्माएकाले विद्यार्थीका लागि अक्षयकोष गीत सङ्गीतमा भविस्य खोज्नेहरूका लागि उपयुक्त माध्यम बनेको बताउनुभयो । 

रेसुङ्गा नगरपालिका–८ का वडाध्यक्ष तथा सिद्धबाबा मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष निरन्जन थापाले देउँसीभैलो खेलेर उठेको रकम फजुल खर्चमा सक्नेहरूलाई खुकुरी युवा क्लबले चुनौती दिएको बताउनुभयो । सामाजिक काम र त्यसको प्रतिष्ठा ठुलो कुरा भएकाले खुकुरी युवा क्लबले त्यसलाई सधैं पछ्याउँदै आएकोमा खुसी व्यक्त गर्नुभयो ।