• २६ कात्तिक २०८२, बुधबार

नेकपामा भीम रावलको स्वागत

blog

भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाललाई स्वागत गर्न नेपाली कम्युनिस्ट पार्टीले आयोजना गरेको कार्यक्रम।

काठमाडौँ, कात्तिक २६ गते। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पूर्व उपप्रधानमन्त्री भीम रावललाई स्वागत गरेको छ। 

बुधबार राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गर्दै नेकपाले रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाललाई पार्टीमा समायोजन गरेको हो।  

कार्यक्रममा नेकपा र मातृभूमि जागरण अभियानबिच सङ्गठनात्मक एकता घोषणा भएको छ ।कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले अभियानका संयोजक रावललाई खादा र माला लगाएर पार्टीमा स्वागत गर्नुभयो । 

कार्यक्रममा प्रमोदनारायण यादव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी श्रमजीवी पनि नेकपामै समाहित भएको छ । सो क्रममा नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाशबहादुर शाह, एमाले केन्द्रीय जलस्रोत विभागका सदस्य डा. मोदराज बगाले, जनता समाजवादी पार्टी केन्द्रीय सदस्य भीमबहादुर थापा, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को किसान सङ्घका महासचिव भगवानबहादुर कार्कीलगायत थुप्रै नेता नेकपामा समाहित हुनुभएको थियो ।

पार्टी एकता घोषणा सभामा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत नेता उपस्थित हुनुहुन्छ । 

पार्टीको समायोजन अघि पेरिसडाँडामा दुई पार्टी एकताको सम्झौताा हस्ताक्षर भएको थियो।  जनताको  हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै बाह्य हस्तक्षेप र दबाबबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने दुई पार्टीबीच सहमति भएको छ । 

यस्तै समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक–सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने, आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमति पत्रमा उल्लेख छ । महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने, सबै तहमा र मातृभूमि जागरण अभियान, नेपालअन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने सहमति भएको छ । 

यस्तै पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रमलगायतका दस्तावेजहरु आपसमा मिलेर तयार गर्ने, पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने, सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुसरण गरिने तथा पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकता अनुसार कार्यदल गठन गरिने सहमति पत्रमा उल्लेख छ । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीबाट निष्काशित गरेपछि रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आउनुभएको थियो ।